वडाध्यक्षलाई पोखरीमा फाल्ने डीएसपी केसीलाई कारबाही गरिने


३ श्रावण २०७९, मंगलवार
tilottama nagarsava

वुटवल : वडाध्यक्षलाई धकेलेर पौडीपोखरीमा फाल्ने डीएसपीलाई कारबाही गर्ने र विवादास्पद भूमिकाको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृतलाई फेर्ने कांग्रेस–एमालेको सहमतिपछि रुपन्देहीको तिलोत्तमामा रोकिएको नगरसभा सुचारु भएको छ ।

विवादका कारण पटकपटक स्थगित हुँदै आएको तिलोत्तमा नगरपालिकाको १२ औं नगरसभाको पाँचौं बैठक मंगलबार निर्धारित समयमै सुरू भएको हो ।

आइतबारको नगरसभामा सहभागी वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडीपोखरीमा धकेल्ने डीएसपी ठगबहादुर केसीलाई कारबाहीको सिफारिस गर्ने सहमति भएको हो । सहमतिसँगै आज नगरसभा पूर्वनिर्धारित समयमै सुरू भयो । यस नगरपालिकामा एमालेको बहुमत छ ।

मणिग्राम पार्टी प्यालेसमा नगरसभा स्थगितको विषयलाई लिएर भएको विवादका क्रममा तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई डीएसपी केसीले लछारपछार गर्दै पौडी पोखरीमा हुत्याएका थिए ।

गएको कार्तिकमा बुटवल इलाका प्रहरी कार्यालयमा आएका डीएसपी केसी त्यसयता विवादमा तानिदै आएका छन् । कांग्रेस नगर, जिल्ला र प्रदेश अधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँण निकटका उम्मेदवारलाई जिताउन भूमिका खेलेको उनीमाथि आरोप छ ।

गृहमन्त्री खाँण निकटले पार्टीका अर्को पक्षका नेता कार्यकर्तालाई सांघातिक आक्रमण गर्दा उनी रमिते बनेको भन्दै उनीमाथि आक्रोश छ । गृहमन्त्री खाँण निकटहरुले महासमिति सदस्य कुमार केसीमाथि सांघातिक आक्रमण गरेका थिए । त्यसबेला उनी रमिते बनेका थिए ।

त्यसैगरी, उनी यहाँ आएपछि चोरीका घटना निरन्तर बढिरहेको र त्यसको अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न बेवास्ता गरेको स्थानीय उद्योगी र व्यवसायिक संघसंस्थाले बताउँदै आएका छन् । गृहमन्त्रीको आडमा प्रहरी कमाण्ड सम्हाल्न ध्यान नदिएकोले चोरी बढेको उनीहरुको भनाई छ ।

वडाध्यक्षलाई लछारपछार गर्दै पौडी पोखरीमा हुत्याउने काम आफूले नगरेको प्रतिक्रिया दिएका डीएसपी केसीले भिडियोमा देखिएको विषयमा भने मौन रहेका छन् ।

यस्तै विवाद सिर्जना गराउने प्रमुख प्रसासकीय अधिकृत जीवन ज्ञवालीको स्थानमा अर्को प्रमुख प्रसासकीय अधिकृत ल्याउने सहमति पनि भएको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले निभाउँदै आएको नगरसभा सचिवको भूमिकामा मंगलबार भने माधव पोखरेल छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७