सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी


३ श्रावण २०७९, मंगलवार
umakanta chaudhary.jpeg OrjjuADgYm

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिएका छन् ।

हाल तीन प्रतिशत मात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटमा निर्माण गरिरहेको फोहर पानी प्रशोधन केन्द्रको आज अवलोकन गर्दै उनले खानेपानीको माग धेरै आउने गरे पनि फोहर पानी प्रशोधनको माग कम हुने गरेको बताए ।

फोहर पानी प्रशोधन गर्ने काममा अब सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने भनाइ सो अवसरमा मन्त्री चौधरीले राखे । ‘जनसंख्या र सहरीकरण दुवै बढेको छ, अब ७५३ वटै स्थानीय तहमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्नु आवश्यक छ, अहिले बनिरहेका धोबीघाटलगायत स्थानका प्रशोधन केन्द्र पनि समयमै निर्माण हुनुपर्छ’, उनले भने ।

धोबीघाटमा हाल दुई वटा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । यही जुलाई अन्तिममा एउटा केन्द्रको म्याद सकिँदैछ । यही महिनामा म्याद सकिने आयोजनाको हालसम्म २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । अर्को आयोजनाको म्याद डिसेम्बर अन्तिममा सकिने जनाइएको छ । यो आयोजनामा करिब ८० प्रतिशत भौतिक प्रगति छ । सन्तोषजनक अवस्थामा रहेको यो आयोजना तोकिएकै समयमा सकिने भएको छ ।

दोस्रो आयोजना समयमै सकिए पनि केन्द्र सञ्चालनमा भने आउन नसक्ने भएको छ । पहिलो आयोजनासँगै दुवै आयोजना सञ्चालनको पूर्वाधारको संरचना पनि बन्न बाँकी रहेकाले चलाउन नसकिने जनाइएको छ । दुवैको काम समयमै सकेर प्रशोधन केन्द्र समयमै सक्न पनि मन्त्री चौधरीले निर्देशन दिए । आयोजनाको काम अघि बढाउँदा स्थानीयवासीसँग भएको प्रतिबद्धता पूरा गर्न पनि मन्त्री उनले निर्देशन दिएका थिए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकाका १८ नगरपालिकामा ३४ प्रतिशतमात्र ढल प्रणाली देखिएको बताए । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेश कुशवाहाले धोबीघाटमा सात करोड ४० लाख लिटर पानी प्रशोधन गर्ने गरी केन्द्र निर्माण गर्न लागिएको बताए । यसबाट आठ लाख आठ हजार जनसंख्या लाभान्वित हुने उनले सुनाए । फोहर पानी प्रशोधनबाट ग्यास निकाली त्यसबाट ३०५ किलोवाट प्रतिघण्टा क्षमताका दुई वटा जलविद्युत् आयोजना पनि सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७