मुख्यमन्त्री राईको चेतावनी : पहिचानविरोधी नामाकरण गराउन खोजिए टुलुटुलु हेरेर बसिँदैन


३ श्रावण २०७९, मंगलवार
Rajendra rai scaled
फाइल फोटो

विराटनगर । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारीबोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गरेका छन् ।

उनले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गरे । किरात राई यायोक्खाद्वारा आज यहाँ आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’ को लोकार्पण गर्दै यो सबैभन्दा पुरानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राखे ।

प्रदेश-१ को नामकरण किराँत पहिचानसहितको हुँदा आपत्ति मान्नुपर्ने कुनै कारण नभएको भन्दै उनले कसैले जबरदस्ती अर्को पहिचानविरोधी नाममा सहमती गराउन खोजे प्रदेश सरकारले पनि संबिधानअनुसार आफ्नो हक प्रयोग गर्ने बताए । ‘पहिचानविरोधी नाममा सहमती गराउन खोजे यो मुख्यमन्त्री बुख्याँचा जस्तो रमिते बनेर टुलुटुलु हेरेर बस्दैन,’ उनले भने ।

प्रदेश- १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही साउन ६ गते सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताए । उनले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिए । सामाजिक विकासमन्त्री राजन राईले प्रदेशको नाम किरात राख्नु समय सान्दर्भिक रहेको छ भन्दै यसको अगाडि तथा पछाडि राखिने अन्य नामका सम्बन्धमा सकारात्मक पहल गर्ने विचार राखे ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले प्रदेशको नाम दल एवं नेताको प्रतिबद्धताअनुसार किरात हुनुपर्ने बताए । नेपाली कांग्रेसका सचेतक सूर्यमा राईले नेकां पहिचान विरोधी नरहेको प्रष्ट पार्दै प्रदेशको नामका सम्बन्धमा सम्पूणर् आएका नामका सम्बन्धमा गम्भीररुपमा छलफल एवं समन्वयकारी भूमिका खेली सहमति कायम गरिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७