सत्ता साझेदार माओवादी केन्द्रले नै गर्‍यो कर्णाली प्रदेश सभा बैठक बहिष्कार


३ श्रावण २०७९, मंगलवार
karnali province assembly

सुर्खेत । कर्णालीमा सरकार एकलौटी ढङ्गले अघि बढेको भन्दै सत्ता साझेदार दलकै सांसदले प्रदेश सभा बैठक बहिष्कार गरेका छन् । माओवादी केन्द्रका सांसदले सरकार प्रमुख सत्ता साझेदार विना एकलौटी ढङ्गले अघि बढेको भन्दै आज मङ्गलवारको प्रदेश सभा बैठक बहिष्कार गरेका हुन् ।

बैठकको शुरुमै माओवादी केन्द्रका प्रदेश सभा सदस्य गोपाल शर्माले सरकारले प्रमुख सत्ता साझेदार दललाई निषेध गर्न खोजेर एकलौटी ढङ्गले अघि बढेको आरोप लगाए । उनले अघिल्लो सरकारले शुरु गरेका महत्वपूर्ण कार्यक्रम र विधेयकलाई यो सरकारले बेवास्ता गरेको बताए ।

उनले भने, ‘सरकारले प्रमुख सत्ता साझेदारको रूपमा रहेको माओवादी केन्द्रलाई पूर्णरूपमा बेवास्ता गरेको छ । माओवादीलाई लतारेर हिँड्न सकिन्छ कि भन्ने सरकारको सोच त होइन ? अघिल्लो सरकारले परिवर्तनका लागि जीवन सर्मपण गर्नेका लागि ल्याएको शहीद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ता लगायतका कार्यक्रम यो सरकारले कार्यान्वयन नगरेर बजेट फ्रिज भयो । पर्वतीय विश्वविद्यालय, सिञ्जा सभ्यता, आमसञ्चारलगायतका महत्वपूर्ण विधेयकहरू सरकारका कारण प्रदेश सभाको सूचीमा पर्न सकेका छैनन् । सरकारको यस्तो गविविधिले हामीले उचित महसुस गर्न सकेको छैनौँ । यसको निष्कर्ष ननिकालेसम्म संसद् र संसदीय बैठकमा हामीहरू उपस्थित नहुने जानकारी गराउँछु ।’

माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरू बैठकबाट उठेर बाहिरिएपछि प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी तीन दल गठबन्धनको सरकार रहेको छ । यसअघि माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७