बजेट प्रकरण : संसदीय विशेष समितिले जनार्दन शर्मालाई बोलायो


३ श्रावण २०७९, मंगलवार
janardan

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्नता गराएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो । समितिले भोलि (बुधबार) पूर्व अर्थ सचिवहरुसँग छलफल गर्ने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले जनकारी दिएका छन् । यस्तै यसबारे समाचार लेखेका दुई सञ्चारमाध्यम अन्नपूर्ण पोष्ट र कान्तिपुरका सम्पादकलाई पनि बोलाइएको छ । त्यसपछि तत्कालीन अर्थमन्त्री शर्मासँग छलफल गर्ने निर्णय भएको छ । समितिका एक सदस्य भन्छन्, ‘भ्याइयो भने भोलि नै छलफल गर्छौं, नभए पर्सी हुन्छ ।’

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा विरोध गरेको थियो । सत्तारुढ दलहरुबाटै समेत प्रश्न उठेपछि संसदले २२ असारमा विशेष समिति बनाएको थियो भने शर्माले त्यही दिन अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । समितिले अर्थ मन्त्रालयका अधिकारीहरुसँग छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । २२ असारमा बसेको संघीय संसद बैठकले ११ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले १० दिनको समय पाएको छ । अब दुई दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिले आफ्नो अध्ययन र छानबिन सक्दैछ । समितिसँग अर्थका बहालवाला सचिवहरुले अनधिकृत व्यक्तिको मन्त्रालयमा उपस्थित भएको कुरा अस्वीकार गरेका छन् । उनीहरुले करको दर हेरफेर गरेको विषय पनि सत्य नभएको बयान दिएपछि समितिले छानबिनको दायरा फराकिलो पार्दै लगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७