वाम एकताको छलफल गठबन्धनविरुद्ध होइन : प्रचण्ड


३ श्रावण २०७९, मंगलवार
prachanda 1 1

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूबीच पार्टी एकताको विषयमा भएको छलफल सत्ता गठबन्धनविरुद्ध नभएको बताएका छन् ।

भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् । उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्यो एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पारे ।

उनले भने, ‘आजको बैठकमा सबै पार्टीहरूले गरेका निर्णयको बारेमा चर्चा भयो । कांग्रेसको केन्द्रीय समिति बैठकले गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने निर्णय गरेको छ । एमालेको निर्णयहरू पनि आइराखेको छ । त्यसबारेमा पनि चर्चा गर्‍यौँ । यो गठबन्धनलाई चाहिँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन ।’

उनले आफूहरूबीच वामपन्थीहरूलाई कसरी एक बनाउने भन्ने विषयमा छलफल भइरहेको पनि बताए । ‘हेर्दै जानुहोला । अब वामपन्थीहरू नजिक हुँदै जान्छौं’, उनले भने । बैठकमा ‘प्रचण्ड ’सहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतम, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

अध्यक्ष प्रचण्डले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गरे । आज मङ्गलवार सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७