पूर्व सांसद इच्छाराज तामाङकी पत्नी पक्राउ


३ श्रावण २०७९, मंगलवार
radha film 1 N64rzzr8U2

काठमाडौँ । एमालेका पूर्व सांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य (तामाङ) लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएका छन् । सिर्जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो । इच्छाराजसँगै उनलाई पनि निक्षपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो ।

इच्छाराज यसअघि नै पक्राउ परेका छन् । जिल्ला अदालतले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन् ।

सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठूलो संख्यामा बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ठगी गरेको आरोप उनीहरुमाथि छ । सिर्जना सोही सहकारीकी लेखा समिति सदस्य हुन् ।निक्षपकर्ताको ५ अर्ब ८४ करोड ४० लाख एक्काइस हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको आरोप छ ।

विगत ३ वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक-पटक अनुरोध गर्दा समेत नपाएपछि १५३० जना पीडितले सीआईबीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले २०७८ मंसिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । फरार रहेकी सिर्जनालाई मंगलबार रामशाहपथ, काठमाडौंबाट पक्राउ गरिएको एसपी महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७