शहरी विकासमन्त्री चौधरीलाई भेटेर गगनले दिए यस्ता तीन सुझाव


३ श्रावण २०७९, मंगलवार
metmani gagan

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शहरी विकासमन्त्री मेटमणि चौधरीसँग भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा थापाले मन्त्री चौधरीलाई तीन सुझाव दिएका छन् । आफूले लामो समयदेखि उठाउँदै आएको फुटपाथ निर्माणदेखि डुबानको दीर्घकालीन समाधानलगायत विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको थापाले जानकारी दिएका छन् ।

थापाले काठमाडौँ उपत्यकाभित्रका सडकलाई पैदल यात्रीमैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनर्स्थापनाका लागि छुट्टै आयोजना संचालन गर्न सुझाव दिएका छन् । काठमाडौँ उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर यो आयोजना संचालन गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै थापाले काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐन संशोधन गरेर, यसको संचालक समितिमा काठमाडौं उपत्यकाका सम्पूणर् महानगर-नगरपालिकाको प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने व्यवस्था गर्न सुझाव दिएका छन् । यस्तो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढलजस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने उनले विश्वास लिएका छन् ।

त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १०, ११, १२ र कामपाको वडा नं. ६ र ७ को केही भाग निरन्तर डुबानमा परिरहने समस्याको दीर्घकालीन समाधान खोज्न छुट्टै परियोजना बनाउन पनि थापाले सुझाव दिएका छन् । अहिले गरिरहेका कामहरूलाई पनि सोही दीर्घकालीन योजनासँग जोड्ने र यो वर्ष महत्वपूर्ण काम सक्नुपर्नेमा थापाले जोड दिएका थिए । मन्त्री चौधरीले यी सुझावलाई सकारात्मक रुपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको थापाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७