राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको काम धमाधम


४ श्रावण २०७९, बुधबार
kaligandaki koridor

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ ।

उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मकोे ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन् । उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रका लागि काम भइरहेको छ । सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्र पनि धमाधम भइरहेको छ ।

करिडोरअन्तर्गत फलेवास-मोदीवेणी-अर्मादी सडकखण्डको ट्रयाकओपन हालै ब्रेक ब्रु भएको छ । मोदीवेणी नजिकैको भिरमा काम गर्ने क्रममा दुर्घटना भएपछि रोकिएको काम हालै ब्रेक थ्रु भएको सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । अब उक्त खण्डमा वर्षायाम रोकिएलगत्तै थप स्तोरन्नतिको काम सुरु हुनेछ । यस अघि सो खण्डको स्तरोन्नतिको जिम्मा लिएको सूर्य कन्सट्रक्शनको लापरवाहीका कारण कामले गति लिन सकेको थिएन ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको फलेवास-मोदीवेणी-अर्मादी सडकखण्डको कामले बल्ल गति लिएको छ । रु नौ करोड १७ लाख ४९ हजारको लागतमा निर्माण हुनलागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक पहिल्यै खुलेको हो । मोदीवेणीबाट अर्मादीको खण्ड हालै सञ्चालनमा आएको छ ।

सेतीवेणीबाट पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफक जलजला जेभीले कालोपत्रको काम गरेको छ । यो खण्डको काम तीव्रगतिमा भएको छ । यो खण्ड अन्य काम सकेर कालोपत्रको चरणमा रहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ । रानीपानीबाट फलेवास ढिकसम्मको २२ किमी सडकमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम धमाधम गरिरहेका छन् ।

उक्त खण्डको रानीपानीबाट खबरको भिरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ । यो खण्ड कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । त्यसैगरी खबरको भिरबाट फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वल्र्डवाइड ओमबुद्ध जेभीले स्तारोन्नति र कालोपत्र गर्ने काम गरिरहेको आयोजनाका सूचना अधिकारी आचार्यले जानकारी दिए । सेतीवेणीबाट फलेवास सडकखण्ड यसै आर्थिक वर्षममा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा सन्तोषजनक काम भएको छ । मिर्मीबाट सेतीवेणीसम्मको सडक स्तरोन्नतिका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम थालेका छन् । उक्त खण्डको तीन किमी सडक काष्ठमण्डप कालीमनकामना जेभीले गरेको छ भने सात किमी सडकको काम महादेव खिम्ती अञ्जना पराजुली जेभीले गरेको छ ।

उक्त सडकखण्डमा पनि कालोपत्रका लागि अहिले स्तरोन्नति तथा फाउण्डेशनको काम भइरहेको छ । मिर्मीबाट सेतीवेणीबीचको भिरमा कडा चट्टान परेका कारण कामले गति लिन नसकेको हो । उक्त स्थानमा चट्टान फोड्न विस्फोटनको तयारी समेत गरिएको छ । कडा चट्टान हुँदा उक्त खण्डको काम सन्तोषजनक हिसाबले अगाडि बढ्न सकेको छैन ।

लमाएखोलामा पुल बनाउने काम अघि बढेको आचार्यले जानकारी दिए । भौगोलिक कठिनाइ र प्राविधिक समस्याले पुलको काम ढिला भएको हो । तत्कालका लागि बेलीब्रिज निर्माण गरेर गाडी गुड्ने बनाइने छ । १४ किमी सडकखण्डका लागि कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ असारमा सूर्य कन्सट्रक्शनसँग सम्झौता भएको हो । अहिले सबै खण्डमा धमाधम काम भइरहेको छ ।

कालीगण्डकी लोकमार्गलाई धार्मिक मार्गका रूपमा हेरिएको छ । लुम्बिनीबाट मुक्तिनाथ र यसबीचमा पर्ने स्याङ्जाको राम्दी, सेतीवेणी, पुर्तीघाट, मोदीवेनी दिव्यधामजस्ता धार्मिकस्थललाई यो राजमार्गले छोएको छ । त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान सावित हुने देखिन्छ । विकासको मेरुदण्ड मानिएको कालीगण्डकी करिडोर पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिले समयमै काम सम्पन्न गर्न नियमित खबरदारी गरिरहेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७