बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शैंया अभाव


४ श्रावण २०७९, बुधबार
tikapur 1

कैलाली । कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शैंयाको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शैंया अभाव हुन थालेको हो ।

यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया सेवा थालेको छ ।

शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ । शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ । शैंया अभावपछि बिरामीले पालो पर्खिनु पर्छ । जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोशिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताइन् । ‘शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शैंया पाउन झन मुश्किल हुने गरेको छ’, उनले भनिन् ।

चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले घर पठाउने र शैंया उपलब्ध गराउन थालेको छ । अस्पतालसँग भौतिक सुविधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोश पोख्ने गरेका छन् । अस्पताल ५१ शय्याको मात्र भए पनि अस्पतालले थप शैंया थपेर सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउँछन् । ‘५१ शैंयाले धान्न मुस्किल छ । दैनिक ४० देखि ५० बिरामी भर्ना हुन्छन्, नियमित शल्यक्रिया सेवापछि शय्याको अभाव भएको हो’, उनले भने ।

टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा कैलालीको टीकापुरसहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी बढिजसो उपचार गर्न आउने गरेका छन् । स्वास्थ्य बीमामार्फत सेवा लिने समेत बढेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७