सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै


४ श्रावण २०७९, बुधबार
naka
फाइल फोटो

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ ।

गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मङ्गलबार नौ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ । मङ्गलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । जोखिम बढेकाले कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, ‘सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।’

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७