मुसलधारे बर्षाले नेपालगञ्ज-धनगढी जलमग्न


४ श्रावण २०७९, बुधबार
nepalgunge

नेपालगञ्ज । बाँकेमा आज (बुधबार) बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् ।
उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदानलगायतका ठाउँमा रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिए । नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Dhangadhi Bajar jalmagna

केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरेको थियो । यस्तै वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् ।
डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् ।

पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ । धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे जनाएको छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू-भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने मौसमविद् मञ्जु बासीले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७