नेपाली रड पहिलो पटक भारत निर्यात


४ श्रावण २०७९, बुधबार
dandi

काठमाडौँ । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आज (बुधबार) देखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योगका सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रुपमा रड भारत निर्यात गर्न लागिएको जानकारी दिए । उनले सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै रड निर्यात सुरु गर्न लागिएको बताए ।

तत्कालीन अर्थमन्त्री जनादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र पहिचान गरी निर्यात प्रवद्र्धन गर्ने व्यवस्था बजेटमा गरेका छन् । त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरी बजेट सार्वजनिक गरेका थिए । बजेटमार्फत नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, रड उद्योगीले निर्यात गर्न थालेका हुन् । पहिलो चरणमा परीक्षणस्वरुप ५० टन रड निर्यात गर्न लागिएको छ ।

नेपालको व्यापार घाटा कम गर्ने उद्देश्यका साथ भारतीय बजारमा रड पठाउन लागेको उद्योगीले जानकारी दिएका छन् । उनले श्री स्टिलले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि रड निर्यात सुरु गरिएको जानकारी दिए । सरकारले निर्यातमा नगद छुटको घोषणा गरेसँगै यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ ।

सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् । उक्त उद्योगहरुले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पखाईमा रहेको जनाएका छन् । भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिनै १५ महिनाभन्दा बढी समय लगाएको भन्दै व्यवसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहज रुपमा अनुमति दिनुपर्ने माग राखेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७