एसपीपीको पत्राचारबारे अध्ययन भइरहेको छ : परराष्ट्र मन्त्रालय


४ श्रावण २०७९, बुधबार
sewa lamsal

काठमाडौँ । अमेरिकासँगको स्टेट पार्टरनसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय सरकारले गरे पनि अमेरिकालाई पत्राचार गर्नेबारे अझै अध्ययन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज (बुधबार) मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अध्ययन भइरहेको जानकारी दिएकी हुन् ।

एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएपछि कहाँ-के र कसरी आएको हो त्यसको निर्क्यौल गरेर पत्र पठाइने उनले बताइन् । ‘एसपीपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ । विपद् व्यवस्थापनलगायतमा के- के मा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कहिले हुने भन्ने सुनिश्चित नभएको उनले जानकारी दिएकी छन् । ‘’परराष्ट्र पहिले एउटा मितिलाई लिएर कुरा भइरहेको थियो । अब दुबै पक्षबाट सहमति भएपछि मिति बाहिर आउँछ । दुवै पक्षलाई अनुकूल नभइ मिति घोषणा गर्ने कुरा आउँदैन’ प्रवक्ता लम्सालले भनिन् ।

उनले संयुक्त राष्ट्रसंघको आउँदो महासभाको बैठकमा सबै देशका सरकार प्रमुख जाने भएकाले यसपटक नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको जानकारी दिएकी छन् । उच्च तहमा कुन तहका व्यक्ति जाने भन्ने मन्त्रिपरिषद्ले गरेपछि टुंगो लाग्ने उनले उल्लेख गरिन् । उनले श्रीलंकाको संकटबारे नेपालले सिक्नुपर्ने धारणा पनि राखिन् ।

हालै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको भारत भ्रमणबारे राजदूतावासले सामान्य सहजीकरण गरे पनि त्यसबारे सरकारलाई पूणर् जानकारी नरहेको प्रवक्ता लम्सालले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७