चुनावमा एमालेसँग डराएको कांग्रेसले अरु दलहरुलाई प्रयोग गर्‍यो : महासचिव पोखरेल

‘राजनीतिमा साना दल हावी भए मुलुकले सही बाटो समाउँदैन’


४ श्रावण २०७९, बुधबार
shankar pokhrel 1

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले एमालेसँग लड्न डराएर स्थानीय निर्वाचनमा अरु दलहरुलाई प्रयोग गरेको आरोप लगाएका छन् । ‘पहिला हामीले ३३ प्रतिशत मत पाएका थियौं,’ पोखरेलले भने, ‘उनीहरु मिलेर लडेको चुनावमा हामीले ३४ प्रतशित मत पायौं ।’

पोखरेलले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार असंसदीय र निर्दलीय भएको आरोप पनि लगाए । पोखरेलले मुलुकमा जति साना दलहरु राजनीतिमा हावी हुन्छन् उति मुलुकले सही बाटो नसमाउने दावी पनि गरेका छन् । आज (बुधबार) अनलाइनका सम्पादकहरूसँगको अन्तरक्रियामा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘जति साना दलहरु राजनीतिमा हावी हुन्छन् मुलुकले सही बाटो समाउँदैन । आज के देखिन्छ भने तेस्रो चौथो पार्टी प्रधानमन्त्री खोज्दै भौतारिँदै हिँडिराखेको देख्दा नेपालको लोकतन्त्रले सहि सामात्या छ र ?’, पोखरेलले प्रश्न गर्दै भने, ‘जनमतले १२ प्रतिशतको सामर्थ्य राख्दैन,’ प्रधानमन्त्री खोज्न देश विदेश दौडाहामा कुद्या छ, योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ ? लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने हो, त्यसैले राजनीतिक धुर्वीकरणको कुरा गरेको हो’, पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले गभर्नरमाथि आक्रमण हुनुमा वित्तीय अराजकता मच्चाउने र कालोधनलाई सेतो बनाउन नपाएकाहरुले गरेको दावी गरे । उनले संसद विघटनको बचाउ गर्दै जनतासँग जान खोज्नुलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा बुझ्न आग्रह गरे । उनले गठबन्धनसँग एमालेले चुनाव हारेको सत्य भए पनि काँग्रेस जनमतमा एमालेभन्दा पछाडि रहेको स्वीकार गर्नुपर्ने बताए । उनले नेकपा एमाले आफ्नै शक्तिमा चुनाव लड्ने भन्दै एमालेको नीतिमा सहमत हुनेहरूसँग कहि कतै सहकार्य हुनसक्ने बताए ।

‘नेकपा एमाले असफल भयो भन्ने कुरा आग्रहले होइन इण्डिकेटरले देखाउनुपर्छ । सूचकले बेठीक भन्छ हामी गलत रहेछौ । सबै सूचक सकारात्मक छ भने हामी सही हुन्छौ, सूचकले सकारात्मक देखाइरहेको छ अनि कसरी एमाले असफल हुन्छ ?’ पोखरेलको प्रश्न छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७