बाढी- पहिरोले नाग्म-गमगढी र सिद्धाकोथान-जुङ्गु सडक अवरुद्ध


४ श्रावण २०७९, बुधबार
nagma gamgadhi road 4LWRXKnI4U

जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत नाग्म-गमगढी सडक बन्द भएको छ । लगातारको वर्षाले बाढी आएपछि सिंजा गाउँपालिका २ विष्टवाडाको खोलामा सडक बन्द भएको हो । सिंजा वडा नम्बर २ का अध्यक्ष तीर्थ वडका अनुसार विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । गाडी आवतजावत गर्न सक्ने अवस्था छैन । गाडी खोला वारि र पारि रोकिँदा यात्रु अलपत्र परेका छन् ।

सडक छिट्टै सञ्चालनमा ल्याउनका लागि प्रहरी प्रशासन सबैलाई खबर गरिएको उनले बताए । बाढीले धान खेत पनि पुरिएको उनले जानकारी दिए । बाढीले सिंजा गाउँपालिका-३ नराकोट पालिका भवनको हिमा नदीमाथिको काठे पुलमा पनि आउजाउ बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

पहिरोले सिद्धाकोथान-जुङ्गु सडक अवरुद्ध
यस्तै निरन्तरको वर्षका कारण पहिरो जाँदा चरिकोटको सिद्धाकोथान-जुङ्गु सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातार वर्ष भएपछि सो सडकखण्डको बैतेश्वर गाउँपालिका-८ देउरालीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बैतेश्वर गाउँपालिका-८ क्षत्रपा यवो देउरालीमा पहिराले सडकको ठूलो भाग बगाएपछि सडक अवरुद्ध भएको बैतेशवर गाउँपालिका-८ क्षत्रपाका वडाध्यक्ष शान्तबहादुर जिरेलले बताए ।

बैतेश्वर गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जाने उक्त सडक पहिरोले भत्किएपछि सो क्षेत्रका नागरिकलाई आवतजावत गर्न समस्या भएको छ । भिरको बाटोमा सडकको ठूलो क्षेत्र पहिरोले बगाएपछि आज बिहानैदेखि सवारी आवतजावत बन्द भएको र तत्काल सञ्चालन हुने अवस्था नभएको अध्यक्ष जिरेलले बताए ।

पहिरोले सडक अवरुद्ध गरेपछि क्षत्रपा, यवो, जुङ्गु, कसेरी, चेत्पु, हुक्पा, झयाकुलगायत क्षेत्रका स्थानीयवासीलाई समस्या भएको छ । वैकल्पिक सडक नहुँदा पहिरोले सडक बगाएपछि उक्त क्षेत्रका नागरिकलाई खाद्यान्न ढुवानी तथा उक्त क्षेत्रमा उत्पादित आलु बजारसम्म निर्यात गर्नका लागि समस्या भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७