जनार्दन शर्मामाथि छानबिन गर्ने समितिको म्याद थपिंदै

सीसीटीभी फुटेज प्रहरीको फरेन्सिक ल्यावमा पठाइयो


४ श्रावण २०७९, बुधबार
janardan

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले बिहीबार शर्मासँग छलफल गर्ने भएको छ । सिंहदरबारमा आज (बुधबार) बसेको समिति बैठकले अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल गरेको थियो भने बिहीबार शर्मासँग छलफल गर्ने निणर्य भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

यसअघि बुधबारकै बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिने बताइएको थियो । त्यस्तै बिहीबार समिति गठन गरिएको १० दिन पूरा हुने भएकाले केही दिन म्याद थप गर्ने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।
‘दिइएको समय सीमाभित्र हामीले छानविन सकेनौँ, अब भोलि एक दिन बाँकी छ,’ समितिका एक सदस्यले भने, ‘अझै केही कुराहरु खुल्न सकेका छैनन् । अब केही दिन समय लिएर प्रतिवेदन तयार पार्छौँ ।’

समितिले बुधबार (४ साउन) मा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानासँग बयान लिएको छ । सबै पूर्व अर्थसचिवहरुसँग बयान लिने प्रयास भए पनि अरु कोही उपस्थित नभएको अर्का सदस्यले बताए । ‘आज पूर्वअ र्थसचिव शिशिरकुमार ढुंगानासँग बयान लियौं, शर्माबारे समाचार लेख्ने यस्तै दुई पत्रकारसँग पनि समितिले बयान लिएको छ,’ उनले भने, ‘बोलाएका पूर्व अर्थसचिव अरु कोही पनि आएनन् ।’

ढुंगानाले विगतदेखिको बजेट निर्माणको अभ्यासबारेमा बताएका थिए । समितिले बिहीबार (५ साउन) विहान जनार्दन शर्मासँग बयान लिने भएको छ । बिहीबार नै डिलिट भएको भनिएको सीसीटीभी फुटेज नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको समितिलाई जानकारी गराइएको छ ।

फरेन्सिक ल्याबबाट रिपोर्ट आउन तीन दिन लाग्ने बताइएको छ । समितिले एकजनासँग कम्तीमा पनि २ घण्टा बयान लिएको छ । समितिले अहिलेसम्म जनार्दन शर्माले गलत गरेको कुनै प्रमाण पार्न नसकेको जनाएको छ । समितिका सदस्य सचिव तथा अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले अहिलेसम्म प्रष्ट कुरा आउन नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७