काठमाडौं उपत्यकाको फोहोर एक साता नउठ्ने


५ श्रावण २०७९, बिहीबार
fohor ktm

काठमाडौं । काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापन कार्य आज (बिहीबार) देखि फेरि रोकिएको छ ।
यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आउँदो एक हप्तासम्म फोहोर ढुवानीको काम बन्द गरिएको हो ।

शहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहोर ढुवानीका गाडी नचलाइ दिन आग्रह गरेको थियो । सोही आग्रहअनुसार महानगरपालिकाले पनि आज (बिहीबार) देखि फोहोर व्यवस्थापनको काम रोकेको हो ।

आजदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिएकी छन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी सञ्चालन हुँदै आएका थिए ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै फोहोर व्यवस्थापनको काम नहुञ्जेलसम्म आ-आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ । निजी र काठमाडौं महानगरपालिकाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडी मात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सीमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ ।

apil

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७