प्रचण्ड र बाबुरामबीच आज पनि भेटवार्ता


२०७९ श्रावण ५ बिहीबार ११:५० बजे

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज पनि भेटवार्ता हुने भएको छ । गत बुधबार भेटेका प्रचण्ड बाबुराम पुनः आज पनि भेट्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरु बीचको समय र स्थान भने तय भइसकेको छैन ।

प्रचण्ड र बाबुराम एउटै पार्टीमा हुने गरी सघन छलफल चलिरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । प्रचण्ड-बाबुराममा सैद्धान्तिक र वैचारिक विषयलाई मिलाउनु पर्ने भएकाले सघन रुपमा छलफल चलिरहेको ती नेताले जानकारी दिएका छन् । बाबुराम पार्टीको नाम कम्युनिस्टै नराखेर जाने पक्षमा छन् भने प्रचण्ड नाममा कतै न कतै कम्युनिस्ट राखेर जानुपर्ने पक्षमा छन् । अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । ‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले शुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रचण्ड र बाबुरामबीच एक ठाउँमा हुने सैद्धान्तिक समझदारी भएमा तत्कालीन नेकपा बहुमत सचिवालय समेत एक ठाउँमा हुने गरी छलफल चलिरहेको छ । जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष, नेकपा राष्ट्रिय एकता अभियान छन् । ती चार पार्टीले आगामी प्रदेश र संघको चुनावसम्म पार्टी एकता नभएपनि एकता संयोजन समिति बनाएर जाने विषयमा छलफल जारी राखेका छन् । उनीहरुले आगामी चुनावमा पनि एउटै घोषणापत्र ल्याउने गरी छलफल जारी राखेका छन् । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यहरूबीच अहिलेसम्म दुई पटक भेटघाट भइसकेको छ । यद्यपि, उनीहरुबीचको सहमतिले मूर्तरूप लिइसकेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७