युक्रेनी प्रथम महिलाले अमेरिकी संसदमा मागिन् हतियार

काठमाडौँ । युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले अमेरिकी सांसदहरुसामु युक्रेनलाई थप हतियार उपलब्ध गराउन माग गरेकी छन् । अमेरिका भ्रमणमा रहेकी जेलेन्स्काले सिनेटर र प्रतिनिधि सभाका सदस्यहरुलाई सम्बोधन गर्दै जितका लागि युक्रेनलाई अझै धेरै हतियार चाहिने बताइन् ।
‘युद्धले हाम्रो संसार पुरै ध्वस्त पारेपछि हामी टुक्राटुक्रा भएका छौं । त्यस्ता दशौं हजार संसार युक्रेनमा ध्वस्त भएका छन्,’ १५ मिनेट भावुक सम्बोधन गरेकी जेलेन्स्काले दोभासेमार्फत् भनिन् ।
युद्धमा मारिएका र घाइते भएका बालबालिकाको भिडिओ देखाउँदै जेलेन्स्काले भनिन्, ‘म हतियार मागिरहेकी छु । त्यो हतियार अरु कसैको भूमिमा युद्ध शुरु गर्न प्रयोग गरिने छैन । बरु, त्यो हतियारले आफ्नो घरको रक्षा गर्नेछौं ।’
उनका पति भ्लादिमिर जेलेन्स्कीले २०१९ मा चुनाव जित्नुअघि जेलेन्स्का पतिका लागि स्क्रिप्ट लेखनको काम गर्थिन् । उनीहरुको विवाह २००३ मा भएको हो । अमेरिकाले युद्ध शुरु भएयता ८ अर्ब डलरको सुरक्षा सहयोग युक्रेनलाई दिइसकेको छ । जेलेन्स्काले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनलाई भेटेकी थिइन् । एजेन्सी