नेपालमा प्रदेश सरकार आवश्यक छैन : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालमा प्रदेश सरकार आवश्यक नभएको बताएका छन् । उनले केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाएर बलियो बनाउनु पर्ने बताएका छन्
आज (बिहीबार) पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूणर् समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए । अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जान उपयुक्त हुने तर्क अध्यक्ष थापाको थियो ।
उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरूपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुईवटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ । प्रदेश सरकारको आवश्यकता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’
अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरु बीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताए । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दावी समेत गरे ।