एटीएम फोरेर १५ लाख चोरी


६ श्रावण २०७९, शुक्रबार
ATM

कास्की । पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका-२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा रु १७ लाख राखेकामा रु दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ ।

पोखरामा केही दिनयता बैंकको एटीएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा-९ न्युरोडस्थित महानगरपालिका कार्यालयअगाडि रहेको एनआइसी एसिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७