अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना संक्रमण


६ श्रावण २०७९, शुक्रबार
President elect Joe Biden

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना भाइरस संक्रमण भएको छ । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।

थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।

७९ वर्षीय राष्ट्रपति बाइडनमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिंदै आएका छन् । यसैगरी राष्ट्रपति बाइडनकी पत्नी जिल बाइडनका अनुसार उनी संक्रमित भए पनि स्वास्थ्य अवस्था ठिक छ । आफ्नो कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको उनले बताएकी छिन् ।

राष्ट्रपति बाइडनका चिकित्सक डा. केभिन कोनोरले ट्वीट गरेर राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएको जनाएका छन् । उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोज समेत लिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७