भारतमा चुनाव हारेर नेपालमा सांसद हुने गरी नागरिकता वितरण नगरौं : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने सरकारको बताएकी छिन् ।
शुक्रबार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराइन्। उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन् । उनले भनिन्, ‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ, यसमा दुई मत छैन । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’
सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन्। उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन्। ‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्छ,’ उनले भनिन्, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’
सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताइन्। उनले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ-आफ्नो प्रचलन रहेको बताइन्।
उनले नागरिकतासम्बन्धी हकमा आफूले पेश गरेको संशोधन प्रस्ताव नागरिकता वंशज र अङ्गिकृतको आधारमा मात्रै नागरिकता ऐन कठोर बनाएर लैजानुपर्नेमा जोड दिइन्।
सांसद पौडेलले नेपाल-भारत सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्। भारतसँगका असमान सन्धि खारेज हुनुपर्ने उनको जोड थियो।