प्रेस युनियनको नेतृत्वका लागि देउवा र कोइराला गुट प्यानलसहित प्रतिस्पर्धामा


६ श्रावण २०७९, शुक्रबार
Press union Election

काठमाडौं : नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन मकवानपुरको हेटौंडामा सुरु भएको छ । युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा परिवेक्षक गरी करिब दुई हजार कांग्रेस निकट पत्रकार हेटौंडामा भेला भएका छन् ।

०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो । ९ वर्षपछि सुरु भएको प्रेस युनियनमा पार्टीको गुटको प्रत्यक्ष प्रभाव देखिएको छ । पार्टीमा रहेको दुई गुट अनुसार नै प्रतिस्पर्धा हुने निश्चित भएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वको संस्थापन र संस्थापन इतर शेखर कोइरालाको समूहका प्यानल बिच प्रतिस्पर्धा हुन लागेको हो ।

संस्थापन समूहको तर्फबाट अध्यक्षका लागि अनिता बिन्दु र कोइराला समूहबाट शिव लम्साल प्यानल सहित मैदानमा उत्रिएका छन् ।
संस्थापनको टिकट देउवाकै हातमा
देउवा गुटले उम्मेदवारी टुंग्याउन अध्यक्ष बद्री सिग्देलसहित पूर्वअध्यक्ष समिरजंग शाह, डा. सुरेश आचार्य, डा. नवराज लम्साल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा कार्यदल गठन बनाएको थियो । औपचारिकताको लागि कार्यदल बनाई पनि संस्थापनका उम्मेदवार टुङ्गयाउ पार्टी प्रवक्ता प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्की सक्रिय भएका थिए ।

महाधिवेशनमा संस्थापन पक्षवाट अध्यक्षको उम्मेदवार बन्नका लागि अनिता र कोषाध्यक्ष सरोज अधिकारीबीच तिव्र प्रतिस्पर्धा भएको थियो । सरोजको पक्षमा उपसभापति खड्का र महामन्त्री शर्मासँगै अध्यक्ष सिग्देल उभिएका थिए । तर सञ्चारमन्त्री कार्की र पार्टी प्रवक्ता डा. महत अनिताको पक्षमा उभिए । सहमति नभएपछि उनीहरुले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई जिम्मा लगाएका थिए । प्रधानमन्त्री पत्नी आरजु देउवा समेत सक्रिय भएपछि अनिताले संस्थापन पक्षको टिकट पाइन् ।

सरोजले वरिष्ठ उपाध्यक्षको टिकट पाए । संस्थापनले जगन्नाथ दुलाललाई महासचिवमा र केन्द्रीय सदस्य माधव धिताललाई कोषाध्यक्षमा उठाएको छ । संस्थापन समूहले उपमहासचिवमा केशव सावद, सचिवमा खगेन्द्र भण्डारी, महिला सचिवमा मेनुका ढुंगानालाई टिकट दिएको छ ।

इतरमा महामन्त्री गगन थापा सक्रिय
इतर समूहबाट वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, सल्लाहकार शिव लम्साल र रामप्रसाद दाहाल प्रतिस्पर्धा थियो । इतरबाट महामन्त्री गगन थापा, सह–महामन्त्रीहरु बद्री पाण्डे र जीवन परियारसँगै युनियनका पूर्व महासचिव तथा केन्द्रीय सदस्य अजयवावु सिवाकोटी सक्रिय छन् । छलफलपछि इतर समूहबाट लम्साल आधिकारिक उम्मेदवार बनेका छन् ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा राममणि दाहाल, महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दीपेन्द्र बान्तवा मैैदानमा छन् । महासचिवमा खिला कार्की, नकुल अर्याल र रमेश वाग्ले आकाङ्क्षी छन् । अन्तिम घोषणा आज नै गर्ने गरी नेताहरु सक्रिय छन् ।

यसैगरी, खुल्ला सचिवका लागि नागरिक दैनिकका भुवन शर्मा,खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायत मैदानमा छन् ।

प्रस्तावित विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसँगै खुल्ला २, महिला १, समावेशी १, सात प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ र उपत्यकाबाट १ गरी ८ उपाध्यक्ष, महासचिव १, खुल्ला ३, महिला २, समावेशी १ गरी ६ उपमहासचिवको व्यवस्था गरिएको छ।

यस्तै विधानमा खुल्ला ३, महिला २, जनजाति १, मधेसी १, दलित १, खसआर्य १, थारु १, पिछडिएको क्षेत्र १ गरी ११ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।

विरोधपछि मनोनयन शुल्क घटाइयो
यसैबीच युनियनको उम्मेद्वारहरूका लागि तोकेको मनोनयन दस्तुर घटाइएको छ । रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि निर्वाचन समितिले दस्तुर घटाएको निर्वाचन अधिकृत प्रविण हुमागाईँले बताए ।

समितिले अध्यक्ष पदका प्रतिस्पर्धीको मनोनयन शुल्क ३० हजार तोकिएको थियो । वरिष्ठ उपाध्यक्ष र महासचिवको मनोनयन शुल्क २५ हजार, उपाध्यक्ष, सचिव, केन्द्रीय लेखा संयोजक र कोषाध्यक्षको २० हजार तोकेको थियो ।
त्यस्तै समितिले केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको मनोनयन शुल्क १५ हजार रुपैयाँ तोकेको थियो ।

नयाँ दस्तुर अनुसार अध्यक्षले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया तिर्नु पर्नेछ । त्यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजकले जनही १० हजार रूपैँया उम्मेद्वार शुल्क बुझाउनुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७