राष्ट्रिय सहमतिमै नागरिकता विधेयक पारित हुनुपर्छ : खनाल

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् । आज( शुक्रबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताएका हुन् ।
ऐन बनाउँदा कुनै कमजोरी हुन नहुने पनि उनले बताएका छन् । नागरिकतासम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको उनले बताए । खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको बताए ।
‘नागरिकता सम्बन्धमा हामीले ऐन बनाउँदा कुनै पनि ढंगले लुज काम गर्नु हुँदैन । हामीले लुज कुराहरु गर्यौँ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बदलिने, नकारात्मक ढंगले बद्लिने खतराहरु हुन्छन् । यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञहरुले, नेपालका पार्टीहरुले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ । यसमा केही गम्भीर प्रश्नहरु छन् । यस्ता कुराहरुमा राष्ट्रिय सहमति हुनु अत्यावश्यक छ । राष्ट्रिय सहमति भएको मैले देखिनँ,’ उनले भने । नागरिकता विधेयक जस्तो कुरा बहुमतका आधारमा पारित हुन नहुने उनले बताएका छन् ।