ग्लोबल आइएमई बैंकको नाफा पाँच अर्ब २० करोड अघिल्लो आर्थिक वर्षभन्दा नाफा २५ प्रतिशतले वृद्धि

काठमाडौं, ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८र७९ मा ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गरेको हो। आर्थिक वर्ष २०७७र७८ मा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ।
बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ। गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ।
बैंकले गत आर्थिक वर्षमा कुल २ खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बचत तथा कर्जा लगानी सकारात्मक रुपमा वृद्धि भएको बैंकले बताएको छ।
बैंकको कुल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७।५२ प्रतिशतले बढेको हो।
त्यस्तै, बैंकको नाफासँगै प्रति सेयर आम्दानी (इपिएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको इपिएस अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ। त्यसैगरी जगेडा कोष २०.४२ प्रतिशतले बढेको छ।
बैंकको खराब खर्जामा पनि सुधार आएको छ। अघिल्लो आर्थिक वर्ष १.४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १.२२ प्रतिशतमा झरेको छ।
मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २९ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।