अविरल बर्षाले नदी र खोलामा बाढी, खिम्ती खोलाले सतर्कता तह पार गर्यो

काठमाडौँ । काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । अविरल झरीका कारण केही नदी खोलामा बाढी आएको छ ।
रामेछापको खिम्ती खोलाले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । खिम्तीको रसनालु जलमापन केन्द्रमा गए राति नै बाढीले सतर्कता तह पार गरेको आज बिहानसम्म उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो ।
महाशाखाले देशका अरु साना नदी तथा खोलामा पनि पानीको बहाव बढेकोले सावधानी अपनाउन भनेको छ । महशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना छ ।
यस्तै रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने पानीको सतह सतर्कता तहभन्दा तल नै रहने महाशाखाले जनाएको छ ।
