भोजपुरको पोखरेले जन्माएको उज्यालो पुष्कर


१८ चैत्र २०७४, आईतवार
puskar karki cover

प्रहरीको भाषा औपचारिक हुन्छ । कोसँग कति बोल्ने ? त्यो ‘फरम्याटेड’ जस्तै हुन्छ । आम मान्छे र प्रहरीबीचमा दूूरी हुन्छ । छ । अझ हामीकहाँ त बर्दीवाला प्रहरी र आम नागरिकविच फराकिलो खाडल छ । दूूरी छ । प्रहरी अफिसरहरु औपचारिक बाहेक निजी जीवनका बारेमा उति धेरै खुल्दैनन् । तर, प्रहरीको पनि निजी सुख दुःख हुन्छ, आम मान्छेको जस्तै हुन्छ । आदेश, कारबाहीमात्रै होइन उनीहरुको जिन्दगीमा पनि सप्तरंग हुन्छ ।

प्रहरीले गरेका कामहरुको त आमसञ्चारमा दैनिकजसो आई नै रहन्छ । तर, उसको व्यक्तिगत जीवन, सपना, जीवनशैली र दुःख भने कम पढ्न वा सुन्न पाइन्छ । तीन साताअघि हामी (नयाँ पेजका सम्पादक माधव पौडेल) केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआइजी पुष्कर कार्कीको कार्यालयमा पुग्यौं । केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् जटील र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने निकाय । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुख छँदा लोकप्रिय काम गरेर चर्चित नेपाल प्रहरीका यी अफिसर हामी पुग्दा निकै व्यस्त थिए ।

puskar karki cover

अरु बेला जस्तै औपचारिक सूूचनाका लागि हामी पुगेका भन्ने लाग्यो क्यारे उनलाई । केही ‘अपडेट’हरु सुनाए । तर, हामीले उनको व्यक्तिगत जीवन, सपना, जीवनशैली र सुखदुःखका गफ गर्ने भनेपछि उनी अलमलिए । उनले भने, ‘हाम्रो काम ठूलो हो, व्यक्तिगत जीवनका बिषयले त्यसले के महत्व राख्ला र ?’ ‘तपाई जस्तै प्रहरीका अफिसर हुने सपना देखेकाहरुलाई धेरै महत्व हुन्छ नि,’ हामीले भन्यौं,‘तपाईलाई पढेर तपाईले हिडेको गोहो पछ्याउन सजिलो होला कि ?’ यसपछि उनी हामीसँग संवाद अघि बढाउन सहमत भए । मुस्कुराएर भने, ‘हो है, ल त्यसो भए, लौ कुरा गरौं न त ।’

हामीले कुरा गर्न अघि एउटा प्रसङ्ग आइहाल्यो, ‘अब को बन्दैछन् प्रहरी प्रमुख ।’ सञ्चार माध्यमहरुले ‘यो बन्दैछन्, त्यो बन्दैछन्’ भनेर लेखेकोमा उनलाई उतिधेरै प्रियकर लागेको रहेनछ । उनले भनिहाले,‘आइजीपी पत्रकारले बनाएर हैरान । पत्रकारले बनाउने हो र ?’ हाम्रो स्टोरीको साइनो आइजीपी बन्ने अथवा बनाउनेसँग थिएन । हामीले भन्यौ,‘त्यतातिर केन्द्रित छैन यो हाम्रो स्टोरी तपाईले हिडेको बाटो नयाँले प्रेरणा लिन सकोस् त्यतिमात्रै हो ।’ पावरवाला चस्मा झिकेर उनी मुस्कुराए । अनि भने,‘लौ हुन्छ ।’

प्रहरी सपना होइन संयोग
पूर्वी पहाडी जिल्ला भोजपुरको पोखरेमा जन्मिएका हुन्, पुष्कर । पोखरे भोजपुर सदरमुकामको केन्द्रमा रहेको बजार हो । यो बजार प्रतिभा जन्माउने हिसाबले निकै उर्बर केन्द्र पनि हो । भोजपुरका धेरै चर्चित नेताहरुको जन्मथलो पनि हो, पोखरे बजार । ‘पोखरे त निकै उर्बर भूमि हो नि’ मैले यसो भन्दा उनी मुस्कुराए मात्रै ।

उनको बुवा सरकारी जागिरे । भोजपुरमा प्रारम्भिक शिक्षा मात्रै भयो । बुवाको साथ लागेर ८ बर्षको उमेरमा नै काठमाडौं आए । काठमाडौंको बुढानीलकण्ठ स्कूलमा उनको शिक्षादिक्षा भयो । बुवा सरकारी जागिरमा भएका कारण बाल्यकालमा उति धेरै दुःख भएन । बुढानीलकण्ठ चर्चित स्कुल नै थियो । उनी राम्रो विद्यार्थीमध्येका एक थिए । उनले २०३८ सालमा एसएलसी पास गरे । सपना थियो, डाक्टर इन्जिनियर बन्ने । त्यही सपनाले उनी अस्कल क्याम्पसमा विज्ञान पढ्न भर्ना भए ।

प्रहरी बन्ने उनको सपना भने थिएन । उनको दिमागमा प्रहरीप्रतिको उति धेरै सकरात्मक धारणा पनि थिएन । भनिन्छ, अक्सर जिन्दगी योजना र सपना अनुसार चल्दैन । उनको जिन्दगीमा पनि भयो त्यही । प्रहरी इन्पेक्टर पदमा जागिर खुल्यो । साथीहरुसँग गए । २९ माघ २०४६ मा भर्ना भए । भन्छन्,‘सपना अथवा योजना भन्दा पनि त्यो एउटा मिठो संयोग थियो ।’

सुरुवातमा कतै उत्साह, कतै निराश
त्यतिबेलाको प्रहरी सेवा आजको जस्तो थिएन । आज जस्तो तर्क वितर्क अथवा कानुन पल्टाएर हुँदैनथ्यो । त्यतिबेला एउटै चल्थ्यो, त्यो हो आदेश । सेवामा प्रवेश गरेपछिका प्रारिम्भक दिनहरु पुष्करका लागि पनि त्यति ठूूलो उत्साहप्रद रहेनन् । भन्छन्,‘कहिलेकाही निराश पनि भइन्थ्यो ।’ पहिलो तालिमपछि उनी चितवन गए । तालिम सकेर चितवन जाँदै गर्दा उनी उत्साही नै थिए । भन्छन्,‘त्यो मेरो जिन्दगीको नयाँ मोड थियो ।’

प्रहरी इन्सपेक्टरको रुपमा उनले चितवन, संखुवासभा, धरान, काठमाडौको कालिमाटी, सोह्रखुट्टे, सिंहदरबार र काठमाडौं जिल्लामा काम गरे । प्रहरी इन्सपेक्टरको भूूमिकामा रहँदाका दिन सम्झेर उनी रोमाञ्चित हुन्छन् । भन्छन्,‘त्यो बेला प्रहरीमाथिको आर्थिक अनुशासनको प्रश्नमा निकै आलोचना थियो, तर हामीले सुरुदेखि अनुशासित रुपमा काम गर्यौं । गर्व लाग्छ ।’ त्यतिबेला देश आन्तरिक द्धन्द्धमा थियो । यतिसम्म समस्या थियो कि, प्रहरीलाई छोरी दिनुहुँदैन भनिन्थ्यो । उनले त्यहीबीचमा विवाह गरे ।

पुष्कर २०५४ मा डीएसपी भए । डीएसपीको रुपमा गोरखा, पोखरा, काठमाडौं अपराध महाशाखामा काम गरे । प्रहरी सेवासँगै पढाइलाई पनि उनले निरन्तरता दिए । औपचारिक शिक्षाको पुस्तकसँगै अन्य पुस्तकहरु निरन्तर पढे उनले । त्यो अध्ययनले पनि उनलाई अघि बढाउन टेवा पुर्‍यायो । त्यही बिचमा उनले बेलायत गएर मानवअधिकार कानुन पढ्ने अवसर पाए । विदेशमा उच्चस्तरको तालिमका अवसर पनि उनले पाए । संयुक्त राष्ट्रसंघमा काम गरे । ती सबै तालिम र अनुभवले प्रहरी सेवाको बारेमा सोच्न र काम गर्न आफूलाई समृद्ध बनाएको उनको बुझाई छ ।

प्रहरी हुनुको सुखदुःख

DIG puskar karki

हरेक पेशाका मान्छेहरुको सुखदुःख हुन्छ । आफ्नै विशिष्टता हुन्छ । बलिया र कमजोर पाटा हुन्छन् । ‘नेपाल प्रहरीको सुखद पाटो चाहिँ के हो ?’ ‘जनतासँग प्रत्यक्ष सम्पर्क हुन्छ,’ उनले मुस्कुराएर भने,‘जागिरका क्रममा देशका धेरै स्थान घुम्न पाइन्छ । यो सुखद पक्ष ।’ त्यसो त प्रहरी भएपछि विदेशमा अर्थात् युएनमा काम गर्ने अवसर पनि पाइन्छ । अन्य देशलाई बुझ्ने अवसर प्राप्त हुन्छ । त्यस देशको समाजलाई बुझ्ने अवसर पाइन्छ ।

प्रहरी पेशाको सुखद पाटो यसलाई मान्छन् उनी । एक्सपोजरको हिसाबले पनि यो पेशा अन्य पेशाभन्दा अघि छ । बाहिर जाँदा डलरमा तलब खाने अवसर पनि प्रहरीलाई प्राप्त हुन्छ । ‘अनि यसको दुखद अर्थात् कमजोर पाटो पनि होला नि ?’ उनले तुरुन्तै भने,‘किन नहुनु थुप्रै छन् । परिवारलाई पर्याप्त समय दिन सकिन्दैन । रुचीका बिषयमा समय बिताउन समय पाइँदैन ।’

समपर्ण र अनुशासन सफलताको सूत्र
प्रहरी सेवामा प्रवेश गरेपछि पुष्करले उतिधेरै पछाडि फर्केर हेर्नुपरेन । पाएको जिम्मेवारीलाई उनले उत्कृष्ट तरिकाले निभाएका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा हुँदा होस् या अनुसन्धान व्युरोमा छँदा उनका कामको प्रशंसा भएको छ । मैले सोधे,‘तपाई जस्तै सफल अफिसर हुने सूूत्र के हो ?’ ‘त्यस्तो सूूत्र त कहाँ हुन्छ,’ मुस्कुराएर भने,‘पेशाप्रतिको समपर्ण र अनुशासन नै हो ।’ जुनसुकै पेशामा लागे पनि कडा परिश्रम र अनुशासनभित्र रहेर गर्न उनको सुझाव छ । प्रहरी सेवा पुष्करको सपनाको बिषय थिएन । तर, अहिले उनी जहाँ छन्, जे छन्, खुसी छन् । भन्छन्,‘फर्केर हेर्दा एकदमै खुसी छु ।’

बढ्दै विश्वास, फेरिंदैछ मनोविज्ञान
अवरोध नभए एउटा प्रहरी अफिसरले चाहँदा समाज सुधार र परिर्वतनमा धेरै ठूलो भूूूूमिका खेल्न सक्ने उनी बताउँछन् । भन्छन्,‘एकजना प्रहरीले अफिसर साँच्चै मजाले काम गर्न पाए धेरै ठूलो भूूमिका निर्वाह गर्न सक्छ ।’ मैले सोधे,‘यो देश बिग्रिनु र भ्रष्ट हुनुमा प्रहरीको हात कति छ ?’ ‘यहाँको संरचना र समस्याबाट प्रहरी पनि अछुतो छैन’ उनले भने,‘तर अन्य पेशामा भन्दा हाम्रो पेशामा अनुशासन र नियन्त्रण बढी छ ।’

प्रहरी भनेको सुरक्षा दिने प्रमुख निकाय । प्रहरी भन्नासाथ दिलदिमागमा सुरक्षा आउनुपर्ने हो । तर, हामीकहाँ त्यसो हुन सकेको छैन । बरु प्रहरी भन्नासाथ हाम्रो मनोविज्ञानमा आतंक आउँछ । त्यसको कारण हो, प्रहरी सेवाभित्रको समस्या । तर, यो पुरानो मनोविज्ञान विस्तारै परिवर्तन हँुदै गएको पुष्करको बुझाई छ । भन्छन्,‘आम नागरिकले विस्तारै प्रहरी भनेको सुरक्षा र साथीको रुपमा बुझ्न थालेका छन् ।’ प्रहरीले गरेका राम्रा काम र अभियानले मनोविज्ञान परिवर्तन हुँदै गएको उनको दावा छ । भबिष्यमा प्रहरीको आफ्नो कामले प्रहरीप्रतिको बुझाई र विश्वास पूूरै परिवर्तन हुनेमा उनी ढुक्क छन् ।

अबको प्रहरी कस्तो ?
सरकार र राजनीतिक दलहरुले राजनीतिक क्रान्ति सकिएको र समृद्धिको यात्रा सुरु भएको बताइरहेका छन् । ‘समृद्धिको यात्रामा प्रहरीको भूमिका कस्तो रहनुपर्ला ?’ उनले भने,‘पहिलो भूमिका नै प्रहरीको रहन्छ । सुरक्षाविना समृद्धि असम्भव छ । अब प्रहरीलाई सबै हिसाबले बलियो बनाउनुपर्छ ।’ स्रोत, साधन र प्रबिधिको हिसाबले प्रहरीलाई ‘अपग्रेड गर्न अत्यन्तै जरुरी रहेको उनको भनाइ छ । भन्छन्,‘सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले उत्कृष्ट काम गरिरहेको छ । अब फेरिएको परिस्थतिमा साधन र स्रोतको हिसाबले प्रहरीलाई नयाँ बनाउनुपर्छ ।’

देश संघीयतामा गएको छ । संबिधानले परिकल्पना गरे अनुसारको तीन तहको सरकार बनिसकेको छ । तर, अबको प्रहरी संरचना कस्तो हुने ? त्यसको ठोस आकार बनेको छैन । अबको प्रहरी नेतृत्वको चुनौती यो पनि भएको उनको भनाइ छ । प्रदेश र केन्द्रबीचको समन्वय कस्तो हुने ? अधिकार कस्तो रहने ? यो बिषयमा बढो गम्भीर र सचेत ढंगले काम गर्नुपर्ने उनी बताउँछन् ।

अबका सपना
पुष्करसँग सपना छ । तर, त्यति ठुलो महत्काङ्क्षा भने छैन । भन्छन्, ‘पाएको जिम्मेदारीलाई सम्झना रहने गरी काम गर्छु ।’ मैले अन्तिमा सोधे, ‘प्रहरीबाट रिटायर्ड भएपछि चहिँ के गर्ने योजनामा हुनहुन्छ ? उनको उत्तर थियो, ‘समय रहेसम्म समाजका लागि केही असल काम गर्छु, परेवालाई चारो खुवाएर मात्रै चहिँ अवश्य बस्दिन ।’

हाम्रो करिब एक घन्टाको संवाद चलिरहदा उनको दर्जनौ फोन आइसकेको थियो । कामका लागि अन्य अधिकृतहरु लाइनमा थिए ।  मलाई प्रहरीको बारेमा उतिधेरै ज्ञान छैन । प्रहरी संगठनको काम र संरचना बारेमा पनि थाहा छैन । मैले केही साथीहरुलाई सोधे, ‘डिआइजी पुष्करको बारेमा तपाईको धारणा के छ ?’ साथीहरुले भने,‘पुष्कर प्रहरीको उज्यालो हो ।’ मैले पनि त्यही लेखिदिए, ‘प्रहरीका उज्यालो पुष्कर ।’ डिआइजी साब ! उज्यालो यात्रा जारी रहला ?

-राजेश 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७