वाम गठबन्धन आवश्यक छ, तर कतिपय अझै तयार छैनन : खनाल


८ श्रावण २०७९, आईतवार
jhalanath khanal

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले वाम गठबन्धन आवश्यक रहेको भए पनि कतिपय अझै तयार नभएको बताएका छन् । उनले अबको निर्वाचनमा वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर जानुपर्ने बताएका छन् ।

आज (आइतबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताए ।
खनालले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे । उनले देशको आवश्यकता वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनु भए पनि कतिपय समूह त्यसका लागि तयार नभएको बताए ।

उनले भने, ‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ । छलफल जारी छ । हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरू एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाऊँ भन्नेखालका कुरा सोच्दैछौँ । सल्लाह गर्दैछौँ । आवश्यकताको दृष्टिले सबै वामपन्थीहरू एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । तर कतिपय समूह तयार नै छैनन् । आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमति हुनुपर्ने आवश्यकता छ ।’

तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेको उनको भनाइ थियो । वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको भए पनि प्रभावकारी नभएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७