डोल्पामा बाढीले काठेपुल पुल बगायो, आवतजावत ठप्प

तत्काल पुल सञ्चालन नभए उपभोग्य सामानको भाउ आकासिने


९ श्रावण २०७९, सोमबार
badhi dolpa

डोल्पा । लगातारको बर्षासँगै आएको बाढीले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ मा पर्ने चुँ गाड खोलाको काठेपुल बगाएको छ ।

दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ । खोलामा पुल नभएपछि नगरपालिको वडा नं ९,१० र ११ का सर्वसाधारण नगरपालिकाको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत गर्न सकेका छैनन् ।

औषधि उपचार, बैंकिङ सेवा, किनमेल लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिएका छन् । खोलामा पुल नबनेसम्म सर्वसाधारण काम परे पनि सहज आवतजावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । त्यस्तै बाढीकै कारण जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवतजावत गर्नका लागि बनाइएको खोलाको तटबन्ध समेत भासिएको छ ।

मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएका छन् । मालवाहक ट्रक, ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट, जुफाललगायतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन । यथाशिघ्र पुल सञ्चालन नभए बजारमा दैनिक उपभोग्य सामाग्री समेत महंगिने स्थानीय व्यापारीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७