पाल्पा बस दुर्घटना : मृतक ६ जनाकै सनाखत, १० जनाको उपचार हुँदै


९ श्रावण २०७९, सोमबार
accident palpa
तस्बिर सौजन्य : निसान मगर

पाल्पा । बाग्लुङको बुर्तिबाङबाट गुल्मी हुँदै बुटवलतर्फ आउने क्रममा आइतबार पाल्पाको लघुवामा भएको बस दुर्घटनाका मृतक सबैको सोमबार बिहान सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाका अनुसार मृत्यु हुनेमा बाणगंगा नगरपालिका-२ कपिलवस्तुका ४५ वर्षीय सुरज सोमै, गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का १६ वर्षीय प्रवेश काफ्ले, देवदह नगरपालिका-७ रूपन्देहीकी ८७ वर्षीया दिलसरा कामी, बर्दघाट नगरपालिका-५ पश्चिम नवलपरासीका २४ वर्षीया पूर्णिमा विक, बडिघाट गाउँपालिका-१० बाग्लुङकी ५५ वर्षीया यमकला थापा र मुसिकोट नगरपालिका-७ का ४० वर्षीय लालबहादुर राना छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा लु १ ख ५९५२ नम्बरको बस सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो । घटनामा १७ जना घाइते भएका थिए ।

घाइतेमध्ये लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल पाल्पामा १० जनाको उपचार भइरहेको छ । सामान्य अवस्थाका घर फर्किएका छन् । आइतवार घाइतेको उद्धारमै समय बढी लागेकाले मृतकका सोमबार मात्र सनाखत गरिएको पाल्पाका प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७