नरबहादुर कर्माचार्यको परिवार भेट्न विहानै पसलमै पुगे प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको परिवारसँग भेटवार्ता गरेका छन् ।
आज (सोमबार) बिहान कर्माचार्यको स्मृति दिवसको अवसरमा परिवार तथा आफन्तजनलाई भेट्न प्रचण्ड ललितपुरको कुम्भेश्वर पुगेका हुन् । प्रचण्डसहित माओवादी नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल पनि पुगेका थिए ।
कर्माचार्यको शालिकमा माल्यार्पण गरेका प्रचण्डसहितका माओवादी नेताहरुले कर्माचार्यको भाइ, बुहारीलगायतका आफन्तजनसँग भेट गरेका हुन् ।
नेकपाका चार संस्थापक नेतामध्ये कर्माचार्य एक हुन् । पुष्पलाल श्रेष्ठ, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य नेकपाका चार संस्थापक नेता हुन् । कर्माचार्य जीवनको अन्तिम घडीमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत थिए ।
माओवादी अध्यक्ष प्रचण्डले नरबहादुर कर्माचार्यकै घरमा आफूले जनयुद्धको तयारी गरेको यसअघि बताएका थिए ।
कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा ०७६ साउन ९ गते आयोजित कार्यक्रममा उनले सो कुरा बताएका थिए । आफूले लिन भन्दा पनि त्याग गर्नका लागि तयार हुने नेताको रुपमा कर्माचार्य रहेको पनि उनले बताएका थिए ।