मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान


९ श्रावण २०७९, सोमबार
monkeypox 1

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ ।

बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेका हुन् ।

सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण-पूर्वी एसिया क्षेत्रका देशहरूलाई मङ्कीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ । ‘मङ्कीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण-पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेका छन्, ‘यद्यपि, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसंख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।’

डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मङ्कीपक्सका सङक्रमण पुष्टि भएका छन् । दक्षिण-पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ ।
भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘विश्वव्यापीरुपमै र यस क्षेत्रमा मङ्कीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मङ्कीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ’, डा. खेत्रपाल सिंहले भने ।

प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ । मङ्कीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् ।

मङ्कीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । हाल प्रकोप फैलिएका देशमा मङ्कीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७