बाबुरामको नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने


२०७९ श्रावण ९ सोमबार ०८:०२ बजे

काठमाडौंँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया तीब्र बनाएका छन् । नयाँ पार्टीको नाम टुङ्गो लागे पनि पार्टीको अध्यक्षबारे टुङ्गो लागिनसकेको स्रोतले जानकारी दिएको छ ।

नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने लगभग पक्का जस्तो रहेको भट्टराई पक्षका नेता गंगा श्रेष्ठले जनाएका छन् । दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ ।

सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ । ‘अरु डकुमेन्टहरू राखेर अब पार्टी दर्ताको प्रक्रियामा जान्छौँ,’ एक नेताले भने, ‘अधिकारीले समावेशी लोकतान्त्रिक पार्टी बाबुराम पक्षलाई दिने हुनुभएको छ । उहाँसँग कुराकानी चलिरहेको छ । पार्टीको नाम फेरेर आँखा चुनाव चिन्ह राखेर नयाँ पार्टी दर्ता गराउने प्रक्रिया अगाडि बढाउँछौँ ।’

यता पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताउँदै आफूहरू छलफलकै क्रममा रहेको बताएका छन् । ‘विभिन्न नाममा छलफल चलिरहेको छ, आयोगसँग पनि परामर्श लिने काम भइरहेको छ । केही दिनमै सबैको कुराको टुङ्गो लाग्छ होला,’ उनले भने, ‘नेपाल समाजवादी पार्टी नाममा लगभग सबैको सहमति छ । तर त्यसलाई अन्तिम रूपमा दिन बाँकी छ ।’

डा.बाबुराम भट्टराईले कार्यकारी भूमिकामा नरहने भनिसकेपछि अध्यक्ष को रहनेबारे पनि पार्टीमा छलफल चलिरहेको छ । बाबुरामले आफू कार्यकारी अध्यक्षमा नबस्ने संघीय परिषद् वा त्यस्तै कुनै पद सिर्जना गरेर अभिभावकको भूमिकामा रहने बताएपछि पार्टीमा अध्यक्षको खोजी शुरु भएको हो ।

अध्यक्षको टुङ्गो नलागेका कारण नयाँ पार्टीको लागि कार्यसमिति बनाउन ढिलो भइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘पार्टीमा अध्यक्ष को रहने र पदाधिकारी कति जनाको बनाउने टुङ्गो लागेको छैन ।’

भट्टराईले नयाँ पार्टीमा तीन जना अध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । एक जना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव उनको रहेको छ । मधेसीबाट महेन्द्र राय यादव वा राजकिशोर यादवमध्ये एक जना राख्ने, जनजातिबाट हिसिला यमि वा गङ्गा श्रेष्ठमध्येबाट एक जना राख्ने विषयमा छलफल भइरहेको छ । खस आर्यको बारेमा अझै टुङ्गो नलागेको ती नेताले बताए । बाबुराम पक्षमा रहेका महेन्द्र राय यादव जिल्ला गएको कारण यसबारे थप छलफल हुन पाएको छैन । सबै नेताहरू काठमाडौँ फर्केपछि यस विषयमा छलफल हुने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७