विकास समितिले माग्यो द्रुतमार्ग आयोजनाको कार्यतालिका


९ श्रावण २०७९, सोमबार
fast track

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्ने गरी तीब्रता दिन निर्देशन दिएको छ । आज (सोमवार) बसेको समितिको बैठकले काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको छ ।

समितिले पूर्व निर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नमा जोड दिएको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति कल्याणी कुमारी खड्काले भनिन्, ‘२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एशियन हाइवे मापदण्डको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई/मधेश द्रुतमार्गको आ.व. २०७८/०७९ सम्ममा भएको २१.१८ प्रतिशतको समस्टिगत प्रगती र आयोजनाको पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कार्यहरु हालसम्म हुन नसकेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुने विषयमा समिति विश्वस्त हुने अवस्था देखिँदैन । यस परिस्थितिलाई मध्यनजर राखि आयोजनाको लागत बढ्न नदिई गुणस्तरीय रुपमा निर्धारित समयमा सम्पन्न गर्न पर्याप्त स्रोतसहित ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने विषयमा तत्काल गम्भिरतापूर्वक पहल गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय सम्वद्ध आयोजनालाई निर्देशन गर्दछ ।’

त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरू इआइए र इएमपीको कार्यान्वयनको अवस्था कस्तो छ र तेस्रो पक्षबाट अनुगमन भए/नभएको सम्बन्धमा १५ दिन भित्रमा समितिलाई स्पष्ट जानकारी दिनका लागि पनि निर्देशन दिएको छ ।

उनले भनिन्, ‘द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसको वातावरणीय पक्षहरू इआइए र इएमपीको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेस्रो पक्षबाट हुने अनुगमनको पक्ष के-कसरी कार्यान्वयन भएको छ यसको स्पष्ट जानकारी १५ दिनभित्र समितिमा उपलब्ध गराउन समिति नेपाल सरकार रक्षा मन्त्रालय र सम्वद्ध आयोजनालाई निर्देश गर्दछ ।’

त्यसैगरी, समितिको मिति २०७८/१२/१३ गतेको बैठकले गरेको निर्देशनका सम्बन्धमा रक्षा मन्त्रीस्तरीय निर्णयबाट गठित छानबिन समितिको प्रतिवेदन समितिमा प्राप्त भएकोले सो प्रतिवेदन बारे आगामी बैठकमा छलफल गरिने समिति सभापति खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७