पर्यटनमन्त्री श्रेष्ठ र मेयर साहबीच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साहबीच भेटवार्ता भएको छ । आज (सोमबार) सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच भेट भएको हो ।
भेटमा मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताएका थिए ।
काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुवात गर्ने आफ्नो योजना रेहेको बताउँदै मन्त्री श्रेष्ठले काठमाडौंका स्थानीय सरकारहरुको सहयोग आवश्यक रहेको बताए । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरवार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको मन्त्री श्रेष्ठले बताएको मन्त्रालयले जनाएको छ ।
महानगर प्रमुख साहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौं आउने जानकारी दिँदै इन्द्रजात्रा व्यवस्थापनमा विभिन्न निकायबाट हुनसक्ने सहयोगबारे चासो राखेका थिए । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरुलाई सहभागी गराउने योजना बनाइएको साहले बताए ।
परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने उनको भनाइ थियो । यसमा अलावा भेटमा काठमाडौं महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण-पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो ।