प्रधानमन्त्रीपत्नी आरजुको दिल्लीमा पाठेघरको शल्यक्रिया

काठमाडौँ । प्रधानमन्त्री पत्नी आरजु देउवाको भारतको नयाँदिल्लीमा सफलतापूर्वक शल्यक्रिया भएको छ । आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको हो ।
आरजुले स्त्रीरोग चिकित्सकद्वय डा. हरित चर्तुवेदी र कन्किता बात्रा मोदीलाई सफल शल्यक्रियाका लागि धन्यवाद दिएकी छन् । प्रधानमन्त्री पत्नी आरजु एक महिनायता नयाँ दिल्लीमा छन् ।
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका बेला प्रचण्ड र आरजुबीच छलफल भइरहेको एक तस्वीर सार्वजनिक भएको थियो । प्रचण्डले आरजुसँग सत्तागठबन्धनबारे भारतको मध्यस्थतामा छलफल गरेको चर्चा भएको थियो ।
तर पछि प्रचण्डले आरजुसँग छलफल गरेको नभई नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरेको ब्रेकफास्टमा आफ्नो भेट भएको बताएका थिए । प्रचण्डले प्रधानमन्त्री पत्नी आरजु स्वास्थ्य उपचारमा दिल्लीमा रहेको बताएका थिए ।