साना किसान पशु बीमाबाट वञ्चित


९ श्रावण २०७९, सोमबार
buffalo palan
फाइल् फोटो

काठमाडौंँ । पशु बीमा कार्यक्रमबाट साना किसान लाभान्वित हुनसकेका छैनन् । देशभर साना किसानको संख्या झन्डै ८० लाख रहेको अनुमान छ । बीमा गर्न मध्यम तथा ठूला किसानको भने बढ्दो आकर्षण छ । उनीहरुले फर्म दर्ता नगरिकन व्यवसाय सुरु गरेका छैनन् । वित्तीय संस्थाले दर्ता नगरेका ऋणीलाई धितो लिएर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने गरेको छैन ।

गत आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा लिनेको संख्या ६० हजार ६१८ छ । उनीहरुले रु एक खर्ब ३९६ अर्ब ८४ करोड सहुलियतपूणर् कर्जा प्राप्त गरेका छन् । फर्म दर्ता गरेर पशुपालन गर्ने साना किसानको संख्या न्यून छ । उनीहरुलाई फर्म दर्ता गर्ने, दर्तापछि धितो राखेर सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी कम छ । वित्तीय संस्थाले स्वीकार गर्ने, आवश्यक धितो नहुनाले साना किसान सरकारी तथा बीमा सुविधा प्राप्त गर्नबाट वञ्चित छन् ।

नेपालमा पशु बीमा कार्यक्रम आर्थिक वर्ष २०७१/७२ बाट सुरु भएको हो । सरकारी सेवा सुविधा प्राप्त गर्नबाट साना किसान वञ्चित भएका कारण पशुजन्य उत्पादनको आयात चुलिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माछा, मासु र दूध तथा दुग्धजन्य पदार्थको आयात वार्षिक रु दुई खर्बभन्दा बढी छ । पहिलो वर्ष गाईभैँसी, चौरी, भेँडा, च्याङग्रा, बाख्रा, सुङ्गुर, बङ्गुर, गधा तथा विभिन्न पक्षीपालन गर्ने किसानले रु ६१ करोड एक लाखको बीमा गरेका थिए । ती किसानलाई सरकारले रु एक करोड ६५ लाख अनुदान उपलब्ध गराएको थियो ।

त्यसको आठ वर्षपछि आर्थिक वर्ष २०७७/७८ सम्म ५९ प्रतिशतले बीमाङ्क बढेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । बीमा समितिले बीमा गर्नेको सङ्ख्या उल्लेखनीय वृद्धि भएको पुष्टि गरे पनि कृषि तथा पशुपक्षीबाट उत्पादन हुने विभिन्न बस्तुको आयात घटेको छैन ।

आयात नघट्नुको मुख्य कारण साना किसानलाई उत्पादनमा समेट्न नसक्नु भएको विज्ञहरुको भनाइ छ । भक्तपुर सूर्यविनायक नगरपालिका-१० का बद्री दुलाल हुन् वा सुदन खड्कालाई पशु बीमाबारे राम्रो जानकारी छैन । उनीहरुले पशुपालनबाट घरायसी खाँचो टार्दै आएका छन् । उनीहरुका गोठमा तीन/चार वटा गाईभैँसी छन् ।

एक दुधालु गाईभैंसीको मूल्य करिब रु एक लाखदेखि एक लाख पचास हजारसम्म पर्छ । कारणबस गाईभैँसी मरेमा उनीहरुलाई बज्रपात पर्छ । तर उनी बीमाका बारेमा बुझाउने र सहयोग गर्ने मान्छे गोठसम्म आइ नपुगेको बताउँछन् । गाईभैँसीलाई घाँसपात, सफा सुग्घर, औषधि उपचारलगायत कामबाट फुर्सद नहुने भएकाले बीमा गर्ने निकाय गोठसम्म आउनुपर्ने उनी बताउँछन् ।

ठूला पशुपालक फर्मको गोठसम्म बीमा गर्ने निकाय पुगेको देखिन्छ तर साना किसानसम्म बीमासम्बन्धी निकाय नपुगेको गुनासो गर्छन् खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारी । उनी भन्छन्, ‘पहिलो पटक स्थानीय वडा सरकारले साना किसानको पशु बीमा गरिदिनु पर्छ ।’ पशुधन बीमाकर्ताले पहिलो वर्ष बीमा रकममा पाँच, दोस्रो वर्ष सात र तेस्रो वर्षदेखि कूल बीमा शुल्कको १० प्रतिशतले हुन आउने रकम भुक्तानी गर्नुपर्नेछ । सदस्य संस्थामार्फत बीमा भएमा कूल बीमा शुल्कमा १५ प्रतिशत छुट दिइने व्यवस्था पशुबीमा नीतिमा उल्लेख छ । नीतिले बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत प्रतिवर्षका दरले शुल्क लाग्ने छ ।

बीमित पशुधनको सम्बन्धमा सत्य तथ्य कुरा लुकाइछिपाइ झुट्टा विवरण दिएको पाइएमा, बीमित पशुधनलाई बीमा अवधि समाप्त नहँुदै बिक्री गरेमा स्वतः रद्द हुने नीतिमा उल्लेख छ । पशुधनकर्ताले बीमित पशु हराएमा वा चोरी भएमा निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशुको बीमा शुल्क नबुझाएको अवस्थामा र नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएमा सात दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क नबुझाएमा बीमाको दाबी रकम भुक्तान गर्न बाध्य नहुने नीतिमा उल्लेख छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७