घुसकाण्डमा मुछिएका अधिवक्ता पोखरेलको जवाफ : अडियोको आवाज मेरो होइन


९ श्रावण २०७९, सोमबार
Rudra pokharel 1

काठमाडौँ । जिल्ला अदालत काठमाडौंका न्यायाधीशसँग थुनुवा छुटाउन घुस बार्गेनिङ गरेको आरोप लागेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले लिखित स्पष्टीकरण दिएका छन् । उनले शुक्रबार एक जना वकिलमार्फत नेपाल बार काउन्सिलमा जवाफ बुझाएका हुन् ।

उनले जवाफमा न्यायाधीशसँग आफूले घुस बार्गेनिङ नगरेको दावी गरेका छन् । घुस बार्गेनिङ गरेको अडिओ आफ्नो नभएको उनको भनाई छ । ‘उहाँले त्यस्तो अडिओ आफ्नो नभएको र सुन्न पाए चिन्न सक्ने जवाफ दिनु भएको छ’, काउन्सिल स्रोतले भन्छ ।

अधिवक्ता पोखरेलले आफूले म्याद बुझ्न नमानेको भन्दै सार्वजनिक सूचना प्रकाशन गरेर ७ दिने म्याद जारी गरिएको प्रति भने आपत्ति जनाएका छन् । उनले काउन्सिलका कर्मचारीलाई तोकेर आफूलाई फसाउने षड्यन्त्र भएको आरोप समेत लगाएका छन् । आगामी शुक्रबार बस्ने बैठकले लिखित जवाफबारे छलफल गर्ने छ । त्यसपछि अधिवक्ता पोखरेललाई बयानका लागि बोलाउने काउन्सिलको तयारी छ ।

इच्छाराजको मुद्दामा पुर्पक्ष आदेश गरेका न्यायाधीश राजकुमार कोइरालासँग अधिवक्ता रुद्र पोखरेलले २ करोड घुस बार्गेनिङ गरेको अडिओ असार ७ गते सार्वजनिक भएको थियो । अडिओ सार्वजनिक भएको भोलिपल्टै नेपाल बार काउन्सिलको अनुशासन समितिले उनलाई ७ दिनभित्र स्पष्टीकरण माग्ने निणर्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७