धरहरा निर्माण कम्पनीलाई मन्त्री चौधरीले झपारे, पेनाल्टी तिराउने चेतावनी


९ श्रावण २०७९, सोमबार
MetmaniChaudhary

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले धरहरा निर्माण कम्पनीका ठेकेदारलाई झपारेका छन् । अनुगमन तथा निरीक्षणका लागि आज (सोमबार) सुनधारा पुगेका मन्त्री चौधरीले आफ्नो इज्जतको ख्याल गर्न आग्रह गरेका थिए ।

आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि उनले भने, ‘चार पटक म्याद थप भइसकेछ । अब कति पटक थप्नुपर्ने ? पैसा मात्रै कमाउन खोजे जस्तो नगर्नुस् । आफ्नो इज्जतको पनि ख्याल गर्नुस् ।’

उनले निर्माण पूरा नहुँदै उद्घाटन गर्न दिएको भन्दै आपत्ति समेत जनाएका छन् । ‘आधा मात्र काम हुँदा पनि तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनका लागि किन हौस्याउनु भयो ? मैले पनि त्यस्तै काम गर्न थाले भने रोक्नुपर्ने दायित्व तपाईहरुको होइन ?,’ उनले सचिवलाई इंगित गर्दै भने ।

मन्त्रीको जवाफपछि सचिव डा. रेमशप्रसाद सिंहले समय सीमामै काम सकाउन आग्रह गरेका थिए । ‘यसपटक समयमै काम सक्नुस् । नत्र पेनाल्टी समेत हुनसक्छ,’ उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने ।

कूल ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २३८ रुपैयाँ ४६ पैसा (भ्याटसहित) को लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता भएको थियो । चार पटक म्याद थप भइसकेको यस परियोजनाको अन्तिम मिति ०७९ असोज मसान्त रहेको छ । हालसम्म भौतिक निर्माणतर्फ ७५ प्रतिशत र वित्तीयतर्फ करिब ६६ प्रतिशत काम सम्पन्न भएको छ । धरहराको निर्माण जीआइइटीसी-रमन जेभीले गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७