मण्डलामा खुवालुङ


१० श्रावण २०७९, मंगलवार
Khuwalung scaled

काठमाडौं : तीन नदीहरु दूधकोशी, अरुण र तमोरको संगमस्थल हो, त्रिवेणी । यो भोजपुर, धनकुटा र उदयपुर जिल्लाको संगमस्थल पनि । यी तिन नदीहरुको मिसिएको ठाउँमा एउटा वर्गाकारको विशाल ढुङ्गो छ ।

हो, त्यही ढुङ्गालाई किरातीहरु खुवालुङ भन्छन् । आफ्नो सभ्यता, संस्कृति र दर्शन मान्छन् । आफ्नो पूर्खाहरु यही खुवालुङको ढोकाबाट छिरेर पूर्वी पहाडभरी फैलिएको किरातीहरुको गहिरो विश्वास छ ।

किराती मिथक अनुसार उहिले किराती पूर्खाहरु बसाइँसराइका क्रममा खुवालुङ आइपुग्यो । तर पहिलो समूह आइपुग्ने बित्तिकै खुवालुङको ढोका बन्द भयो ।

खुवालुङलाई बाटो माग्दा भन्दा ‘भोग’ नचढाई दिन्न भन्यो । पछाडि हेर्दा उनीहरुले मोङ्खु (जुरेली) चरा देखे । त्यही चरालाई वाणले हानेर खुवालुङलाई भोग दियो । चराको भोगपछि खुवालुङ खुल्यो ।

दोस्रो समूह आएपछि पनि उसैगरी बन्द भयो । आफ्नै चेलीको औंला अम्लिसाेको पातले काटेर खुवालुङलाई रगत पारिदियो । खुवालुङ खुल्यो । तर चेलीको रगत धेरै बग्यो । उनीहरुले बहिनीलाई बचाउन सकेनन् । त्यहीँ चिहान खनेर गाडेर हिडे ।

फर्केर हेर्दा चेलीको रगत बाख्राले चाटिरहेको देखे । त्यस दिनदेखि उनीहरुले भने, ‘मेरो सन्तानले अब तेरो माखु खाँदैनन् । अब सुङ्सा भइस् ।’ त्यसले केही किरातीहरुले बाख्राको मासुलाई सुङ्सा अर्थात् खान नहुने मासु भन्छन् । चेलीको रगत चाटेको हुनाले उनीहरुले बाख्राको मासु खादैँनन् ।

Khuwalung Map


केही भाईहरु उधो मधेशतिरै बस्यो । मिथक अनुसार एउटा समूहले तमोर पछ्याएर गयोे । तमोर पछ्याएर जानेहरु लिम्बू हुन् भनिन्छ । अरुण पछ्याएर जाने याम्फू, लोहरूङ, मेवाहाङ । दूधकोसी पछ्याएर जानेहरु तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङरबायुङ, साम्पाङ, वान्तावा दुमी, कोयीरकोयू, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई । लिखु खोलै–खोला जाने जिरेल । रावा खोला पछ्याई जाने नाछिरिङ कोयु हुन् । सुनकोसी पछ्याएर जाने सुनुवार जिरेल, सुरेल, हायू, थामी हुन् ।

एउटा समूह खुवालुङ नतरीकन मधेसमा नै बस्ने थारू, धिमाल, मेचे, कोचे हुन् । खुवालुङ तिरेर जाने र मधेसतिर बस्ने किराती पूर्खाहरु को–को थिए ? ती पूर्खाहरुको नाम भने किराती मिथकहरुमा अलग–अलग पाइन्छ । मुल कथा भने सबै मिथकहरुमा उस्तै पाइन्छ । पात्र फरक पाइन्छ । तर कथाको सार एउटै ।

हो, यसरी खुवालुङबाट बाडिएर गएका किरातीहरु पूर्खाहरु पूर्वी पहाडभरी फैलिन्छन् । भस्मे–खोरिया फाड्छन् । आवाद गर्छन् । किराती सभ्यताको रचना गर्छन् । त्यसले खुवालुङलाई किरातीहरुले किराती सभ्यताको प्रस्थानबिन्दु मान्छन् । अध्येता भोगीराज चाम्लिङका अनुसार यी किरातीहरु चिनको ह्वाङ्यो र याङ्सी नदीको बीच भागतिर पर्ने नियामाबाट योँला हुँदै खुवालुङ आइपुगेका हुन् ।

०००

यही आदिम कथाको आधारमा किरातीहरुले खुवालुङलाई पवित्र थालो मान्छन् । सांस्कृतिक बिम्ब मान्छन् । खुवालुङमाथि उनीहरुको गहिरो आस्था र अग्लो विश्वास छ । खुवालुङसँग किरातीहरुको खुसी र गौरव जोडिएको छ, किनभने यहीबाट गएर उनीहरुले पूर्वी पहाडभरी किराती सभ्यताको सुरुवात गरे । खुवालुङसँग किरातीहरुको दुःख र आँशु जोडिएको छ, किनभने उनीहरु यहीबाट छुट्टिए । अलग भए । गहिरो पीडा र आँशु जोडिएको छ, किनभने उनीहरुले सँगै आएको चेलीलाई बचाएर लैजान सकेनन् ।

खुवालुङको मुख्य कथा यही हो । गाथा र गरिमा पनि यही हो । यही मिथकमा आर्धारित भएर साहित्यकार राजन मुकारुङले नाटकको रुपमा उतारेका छन् । रंगकर्मी किरण चाम्लिङ राईले निर्देशन गरेका छन् । करिब दुई घण्टामा नाटक मार्फत यो माथिको कथालाई देखाउन खोजिएको छ । जुन नाटक मण्डला नाटकघरमा चलिरहेको छ ।

नाटक सुरु हुन्छ, ८ फागुन २०७७ बाट । अर्थात् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर सप्तकोसीस्थित खुवालुङलाई ‘क्रेन लगाएर फुटाउने’ अभिव्यक्ति दिए । उनले भनेका थिए, ‘त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दै छौं स्टिमरका लागि ।’ कोसीमा स्टिमर कुद्छ । रोकिन्छ । आधुनिक स्टिमरसँगै कोसीको किनारै–किनार चेफा बगाएर जीविकोपार्जन दृश्यहरु देखिन्छ ।

विकासको नाममा भएका बरबादीको बिरोधबाट सुरु हुन्छ । नाटकले आजको पुँजीवादले विकास र आधुनिकीकरणको नाममा सांस्कृतिक आस्था र सम्पदाहरूमाथि गरेको ज्याजदी विरुद्ध कलात्मक प्रतिरोध गर्छ । बिरोध गर्छ । खबरदारी गर्छ ।

जब खुवालुङलाई ‘क्रेन लगाएर फुटाउने’ बहस हुन्छ । त्यसपछि सुरु हुन्छ, ‘फ्ल्यासब्याक’को कथा । अर्थात् माथि उल्लेख गरिएको मिथकको कथा । त्यही कथालाई कलाकारहरुले भन्छन् ।

खुवालुङ काटेर जानअघिका किराती पूर्खाहरुले गरेका संघर्षहरुको कथा थपेर नाटकलाई थप बलियो बनाइएको छ । त्यो थपिएका कथाहरुले कतै रुवाउँछ, कतै हसाउँछ ।

०००

Khuwa lung


यो नाटकका लेखक राजन मुकारुङ केवल लेखक मात्रै होइनन् । अभियान्ता समेत हुन् । सांस्कृतिक आन्दोलनका नेता पनि ।उनले ‘खुवालुङ बचाउ’ सांस्कृतिक आन्दोलनको नेतृत्व समेत गरे । आदिवासी जनजाति लेखक–सहित्यकार महासंघको अध्यक्ष छन् । आफ्नो समुदायको पहिचान–परिचय, सभ्यता–इतिहासप्रतिको गहिरो बुझाई भएको राजन मुकारुङका प्रत्येक रचनाहरु आफैमा बाटो र उज्यालो जस्तो लाग्छ ।

त्यस कारण पनि किराती संस्कृति, सभ्यता र इतिहासँग जोडिएको खुवालुङको गर्व र गरिमालाई उसले सचेत हिसाबले नाटकमा प्रस्तुत गरेका छन् । ‘खुवालुङ मनोरञ्जनको बिषय होइन, किरातीहरुको आस्था हो । यो नेपालकै सांस्कृतिक सम्पदा र गरिमा हो’ भन्नेमा उनी पुरै सचेत देखिन्छन् ।

तर नाटकमा केही बिषयहरु भने अवश्य खड्किन्छ । अपेक्षित दृश्यहरु हराएको जस्तो, अनपेक्षित दृश्यहरु आए जस्तो लाग्छ । त्यस्तो उनीहरुलाई मात्रै लाग्छ, जसले खुवालुङको मुन्धुमी कथाहरुलाई गहिरो गरी बुझेका छन् । यसको मिथक पढेका वा बुझेका छन् । त्यो मिथकको आधारमा उनीहरुको दिमागमा चहिँ नाटक हेर्न अघि अवश्य पनि ‘कथा सेट’ भएर बसेको हुन्छ । अर्थात् मिथकको आधारमा दृश्यहरुको अपेक्षा गर्छन् ।

तर यस्ता थुप्रै दृश्यहरु छन्, जो नयाँ भेटिन्छन् । तर कथा अनुसार अपेक्षित दृश्य देखिन्दैँन । जस्तो, मिथकमा खुवालुङ नखुलेपछि चराको भोग दिइएको उल्लेख छ । नाटकमा त्यो दृश्य देखिन्दैँन । मिथकमा अम्लिसोको पातले काटेर चेलीको रगत चढाइएको र रक्त बगेर चेलीको मृत्यु भएको कथा छ । तर नाटकमा बगेर मरेको देखाइन्छ । मिथकको आधारमा प्रश्न गर्न सकिने अथवा अपेक्षा गर्न सकिने थुप्रै दृश्यहरु छन् ।

नाटकलाई कलात्मक वा रमाइलो बनाउनका निम्ती केही दृश्यहरु थप्नुपर्ने वा हटाउनुपर्ने सिमा लेखक र निर्देशकसँग होलान् ? तर खुवालुङ नयाँ लेखिएको कथा होइन । ‘रेडिमेड’ कथामा नाटकको लागि पटकथा लेख्नुपर्ने होला ? यो किराती आदिम सभ्यताको कथा नयाँ पुस्ता र अरुहरुलाई सुनाउनुपर्ने भएको कारण जस्ताको तस्तै दृश्यहरु राखिएको भए हुन्थ्यो भन्ने अपेक्षालाई अन्याथा भन्न मिल्दैन की ?’

०००

प्रस्तुती र अभिनयको हिसाबले यो नाटक बेजोड छ । निर्देशकले श्रृखलाबद्ध प्रस्तुतीले कथा सलल बगेको छ । कलाकारहरुको जिवन्त अभिनयले नाटकघरमा छु भन्ने कुरोलाई भुली पठाइन्छ । उतै कतै भोजपुरको गाउँतिर, खोटाङ वा ताप्लेजुङमा किराती पूर्खाहरुसँगै छु जस्तो लाग्छ । माछासँगै उभो बग्ने रुची भएकी हाङ्छामा उधो सप्तकोशीमा बग्दा होस् वा महामारीले दाजुभाईहरु मर्दा धेरै पटक आँशु झरेको मेसो नै पाइन्दैन ।

साउन २९ सम्म मञ्चन हुने नाटकमा पशुपति राई, मनाङ लावती, सुशील तामाङ, इंगिहोपो कोइँच सुनुवार, वेदना राई, अनु थापालगायत कलाकारले अभिनय गरेका छन् । कवि स्वप्निल स्मृति र साहित्यकार राजन मुकारुङले लेखेका गीत उस्तै सुनिरहुँ लाग्छ ।

दूधकोशी, अरुण र तमोरको संगमस्थल हो, त्रिवेणीमा उभिएर किराती सभ्यताको कथा भनिरहेको पानी ढुङ्गालाई राजन मुकारुङले काठमाडौंमा उतारेका छन् । यो केवल अभिनय, मनोरञ्जन र टिकट बिक्रीको एउटा प्रक्रिया होइन । यो किराती सभ्यता ‘काठमाडौं’लाई सुनाउने एउटा महाअभियान पनि हो । किराती पूर्खाहरुको संघर्षको कथा र गरिमा नयाँ पुस्ता र अरुहरुलाई सुनाउने अभियान पनि हो । सबैभन्दा बढी त राज्यलाई खुवालुङसँग जोडिएको किरातीहरुको आस्था, विश्वास र भरोषा बुझाउने सांस्कृतिक अभियान पनि हो । यो अभियान र आन्दोलनका लागि लेखक, निर्देशक र कलाकार धन्यवादको पात्र बनेका छन् ।

०००

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७