इलामको झण्डीडाँडामा धरहरा निर्माण


१० श्रावण २०७९, मंगलवार
rong ilam

इलाम । इलामको रोङ गाउँपालिकास्थित झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि रोङ-६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको हो ।

तराईबाट छोटो दूरीमा पर्ने करसोङ पदमार्गमा पर्ने झण्डीडाँडा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । झण्डीडाँडाको आकर्षणका लागि गाउँपालिकाले १२ लाख रकम विनियोजन गरेर उक्त क्षेत्रको सुन्दरीकरण बढाउने काम गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए ।

उनका अनुसार आकर्षणका लागि धरहरासहित डाँडामा जाने सिँढी निर्माण, रेस्ट हाउस, वरिपरि रङ्रोगन तथा रेलिङ निर्माण र फोहोर व्यवस्थापनका लागि डस्बिन राखिएको छ । झण्डीडाँडाको चुचुरोमा आकर्षक धरहरा निर्माण गरिएको हो । सो क्षेत्रको वरिपरि समेत व्यस्थित गर्ने कार्य गरिएको गाउँपालिकाले जानकारी दिएको छ । डाँडाको चुचुरोमा राखिएको धरहरा १६ फिट अग्लो रहेको छ । नौतले धरहरासहितको रङ्रोगनले अझ सुन्दरता थपिएको छ ।

झापाबाट नजिक पर्ने सो क्षेत्रमा पछिल्लो समय पर्यटकको सङ्ख्या वृद्धि भइरहेको स्थानीयले बताएका छन् । तराईको उत्पातको गर्मी छल्नका लागि झण्डीडाँडामा पर्यटक आउने गरेका हुन् । झण्डीडाँडा सूर्योदय र सूर्यास्थको दृश्यावलोकनका लागि चर्चित बन्दै गएको छ । झण्डीडाँडामा गाउँपालिकाले पूर्वाधारका निर्माणको काम गरिरहेको छ ।

विशेष गरेर झण्डीडाँडादेखि मुनि रहेको सलकपुर सुन्तला फलेकै कारण चर्चामा छ । सुन्तला खान र लैजानका लागि छिमेकी देश भारतबाट सिजनमा हजारौँ पर्यटक आउने गरेका छन् । त्यस्तै सँगै रहेको पाथीभरा मन्दिर, करसोङ पदमार्ग, हरियाली अनेकौं जातजातिका वनस्पतिका कारण पनि सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

हाँसपोखरीबाट सुरु हुने पदमार्गको बीचमा पर्ने गुगलडाँडा, झण्डीडाँडा, सलकपुर हुँदै झापाको बाहुनगाँडी जोडिने भएकाले पनि यहाँ धेरै पर्यटक आउने गरेका छन् । दुई जिल्लाका पर्यटक मात्र नभएर सो क्षेत्रमा नजिकै रहेको भारतबाट समेत उत्तिकै पर्यटक आइरहेका छन् । बर्खाको सिजन भए पनि यसबेला पनि दैनिक सयौँको संख्यामा पर्यटक आउने गरेका छन् ।

पर्यटकको संख्यामा वृद्धि हुँदै गएपछि बस्नका लागि होमस्टे निर्माण भइरहेका छन् । यस क्षेत्रमा दर्जनको संख्यामा बास बस्ने होमस्टे सञ्चालित छन् । पछिल्लो समय गाउँपालिकाले समेत यसको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याएसँगै पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो । पर्यटकले स्थानीयस्तरमा उत्पादित तरकारी तथा फलफूल समेत लैजाने भएकाले सो क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुँदै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७