एकपछि अर्को अमेरिकी अधिकारीहरु नेपालमा, लु फेरि भोलि आइपुग्ने


११ श्रावण २०७९, बुधबार
Donald Lu

काठमाडौं : अमेरिकी उच्च अधिकारीहरु नेपालमा आउने क्रम बाक्लिएको छ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए. फ्लिन चार दिने नेपाल भ्रमण गरेर फर्किएको एक महिनापछि संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आउने भएका छन् ।

विहिबार काठमाडौं उत्रिन लागेका यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गराउन नेताहरुलाई दबाब दिएर फर्किएका थिए । उनले अमेरिका फर्किएपछि नेपाली नेताहरुलाई फोन गरेर एमसीसी अनुमोदनको प्रक्रियालाई अगाडि नबढाए ठिक नहुने धम्कीपूर्ण भाषा बोलेका थिए ।

२६ जेठमा आएका कमाण्डर जनरल चार्ल्स ए. फ्लिन २९ जेठमा फर्किएका थिए । त्यसबेला अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा सार्वजनिक भएपछि विवाद भएको थियो ।

त्यसअघि तिब्बत मामिलासमेत हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया आएकी थिइन् । जिया जेठ ६ गतेदेखि ८ गतेसम्म नेपाल भ्रमणमा आएकी जियाले नेपालस्थित तिब्बती शरणार्थी शिबिर पुगेर तिब्बती नेताहरुलाई भेटेका थिए ।

जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन् । जियालाई चीन र दलाई लामा वा उनका प्रतिनिधिबीच निःसर्त वार्ताका लागि संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारी समेत छ ।

त्यसबेला उनी दुईदिने भारत भ्रमण सकेर नेपाल आएकी थिइन् । उनले भारतमा धर्मशालास्थित निवासमा पुगेर तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन् ।

फेरि लु

यही क्रममा लु बिहीबार दिउँसो काठमाडौं आइपुग्ने भएका छन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।

उनी त्यस बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आएका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे जानकारी बाहिर ल्याइएको छैन ।

लुले यसअघि एमसीसी सम्झौतालाई संसद्‍बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कुटनीतिक दौडधुप गरेका थिए । साथै उनले नेपालका शीर्ष नेताहरूलाई फोन गरेर एमसीसी अनुमोदनको प्रक्रियालाई अगाडि बढाउन पनि आग्रह गरेका थिए । जसलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै सार्वजनिक कार्यक्रममै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७