यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


१२ श्रावण २०७९, बिहीबार
rain

काठमाडौँ । देशका धेरै भू-भागमा आज (बिहीबार) पनि बर्षा हुने मौसमविदले जनाएका छन् । देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जनजीवन प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।

आज बिहान वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश-१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

‘नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ । यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्छ । त्यसैले सामान्य सतर्कता अपनाउन सबैमा आग्रह छ’, विभागले भनेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश र वागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैबीच, चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले आग्रह गरेको छ ।

चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । र, थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७