अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

भोलि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता


१२ श्रावण २०७९, बिहीबार
Donald Lu

काठमाडौँ । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बिहीबार) आकस्मिक रुपमा नेपाल आउँदैछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणबाट फर्केको दुई साता नबित्दै अमेरिकी उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको साउन पहिलो साताका लागि तय अमेरिका भ्रमण रोकिएका बेला लु आउन लागेका छन् ।

एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यमा सक्रिय लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निणर्य गरेको एक महिनापछि नेपाल आउन लागेका हुन्। लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ । कार्यक्रम अस्वीकारबारे अमेरिकालाई पत्राचार गर्न सरकारमाथि दबाब बढेको छ ।

सहायक विदेशमन्त्री लुको भ्रमण ‘छोटो तर नियमित औपचारिक’ रहेको अमेरिकी कूटनीतिक स्रोतले जनाएको छ । ‘सहायक विदेशमन्त्री लु बिहीबार आउनु हुन्छ । शुक्रबार शीर्ष नेतासँग भेटघाट गरेर फर्किनु हुन्छ,’ अमेरिकी कूटनीतिक स्रोत भन्छ, ‘दुई दिनको भ्रमण छोटो भए पनि नियमित प्रकारको हो । सबै भेटवार्ता शुक्रबार हुन्छ ।’

यसअघि, मानव अधिकार र तिब्बती मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले जेठमा नेपाल भ्रमण गरेकी थिइन् । तर, परराष्ट्र मन्त्रालयले उनको भ्रमण पुष्टि गर्न अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सहायक मन्त्रीको भ्रमणबारे आफूले बताउन नसक्ने जवाफ दिइन् । सरकारले एसपीपी अस्वीकार गर्ने निणर्य गरेपछि सहायक विदेशमन्त्री लुको भ्रमण हुँदै छ ।

नेपालले ६ असारमा एसपीपी अस्वीकार गर्ने निर्णय गरेपछि उनी आउन लागेका छन् । नेपाल सरकारले ६ असारमा एसपिपी अघि नबढाउने निणर्य गरे पनि यसबारे अमेरिकालाई औपचारिक रूपमा जानकारी दिएको छैन । उनको भ्रमण यही परिप्रेक्ष्यमा हुन लागेको छ । एसपीपी नेपालले अघि नबढाउने निर्णय पनि नेपाल आउन लागेका उनी नै उपल्लो अमेरिकी अधिकारी हुन् ।

अमेरिकी सहायताको एमसीसी परियोजना संसद्बाट पारित हुनुभन्दा पहिले आठ महिनाअघि (०७८ मंसिर पहिलो साता) उनले नेपालको भ्रमण गरेका थिए । त्यसवेला र २७ माघमा अमेरिकाबाटै टेलिफोन गरेर उनले शीर्ष नेताहरूलाई एमसीसी पारित गर्न दबाब दिएका थिए ।

उनले १६ फागुनसम्मको समयसीमामा एमसीसी पारित नभए त्यसको असर द्विपक्षीय सम्बन्धमा पर्न सक्ने कूटनीतिक चेतावनी दिएका थिए । नेपालको संसद्बाट १५ फागुनमा एमसीसी पारित भएको थियो । एमसीसी पारित भएपछि नेपालमा अमेरिकी अधिकारीको भ्रमण बाक्लिएका वेला लु आउन लागेका हुन् ।

लु आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण भएको छ । लिउले नेपाल भ्रमण गरेको दुई साताभित्रै अमेरिकी उच्च अधिकारी आउन लागेका हुन् । लिउले २६ देखि २९ असारमा नेपालको औपचारिक भ्रमण गरेका थिए । लुअघि मानव अधिकार तथा तिब्बती मामिला हेर्ने अमेरिकी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेकी थिइन् ।

अमेरिकी उपविदेशमन्त्री जियाभन्दा अघि चैतमा चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले नेपालको औपचारिक भ्रमण गरेका थिए । एमसिसीका विषयमा चिनियाँ अधिकारीहरूले सार्वजनिक रूपमा नै अमेरिकी व्यवहारको आलोचना गरेका थिए । एमसीसीका नाममा अमेरिकाले नेपालमा जबरजस्ती कूटनीति लाद्न खोजेको चिनियाँ आरोप थियो । आठ महिनाअघि १ मंसिरमा पनि लु काठमाडौं आएका थिए । उनले एमसीसी संसदमा लगेर टुंग्याउन उनले शीर्ष राजनीतिक नेतालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७