साफ च्याम्पियनसिप फुटबल : नेपालको लगातार दोस्रो जित, श्रीलङ्का ३-० ले पराजित


१२ श्रावण २०७९, बिहीबार
nepal vs shreelank

काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
हिजो (बुधबार) भारतको भुवनेश्वरस्थित कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३-० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।

हिजो भएको अर्को खेलमा भारत बंगलादेशसँग २-१ गोलले पराजित भयो । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले हराएको थियो । श्रीलङ्काको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा श्रीलङ्का बंगलादेशसँग १-० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बंगलादेश सहभागी छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतवार र अन्तिम खेलमा बंगलादेशसँग मङ्गलवार खेल्नेछ । फाइनल खेल अर्को शुक्रवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७