विदेशी महिला विवाह गर्ने बित्तिकै तात्तातै नागरिकता नदिऔं : देवकोटा


१२ श्रावण २०७९, बिहीबार
Khimalal devkota
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले विदेशी महिलासँग विवाह गर्ने वित्तिकै तात्तातै नागरिकता दिने प्रावधान गलत भएको बताएका छन् ।

राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन पहिलो संशोधन विधेयक २०७९ माथि दफावार छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य देवकोटाले नागरिकतासम्बन्धी प्रावधान खुकुलो गराउन नहुने बताएका हुन् ।

उनले भने, ‘कल सेन्टरका नाममा चिनियाँहरूको साइबर अपराध र भारतीय ठगमा चिनियाँले नेपाली खटाउने विषय सार्वजनिक भएको छ । खुकुलो नागरिकता प्रावधानले संगठित अपराध बढ्ने हो की भन्ने चिन्ता पैदा भयो । दोहोरो नागरिकताको सम्भावना त छँदैछ । नागरिकताको सम्बन्धमा अहिले यति कडा व्यवस्था हुँदाहुँदै पनि नक्कली आमाबुबा बनेर वा बनाइएर नागरिकता लिन्छन् दिन्छन् भने भोलिको अवस्था कस्तो होला ?’ कसैको प्रभावमा परेर हातहाती नागरिकता दिनु भनेको राष्ट्रप्रतिको गद्धारी हुने उनले बताए ।

उनले भने, ‘पहिचानसहितको नागरिकता दिने पक्ष आफ्नो ठाउँमा होला । तर, आमा र बाबुको थर, ठेगाना रोज्न पाउने भन्ने विषयले भोलि भारतलगायत तेस्रो मुलुकमा विवाह गरेर गएका चेलिहरूका सन्तान बढ्ने हो की भन्ने मेरो अनुमान छ। थर हाम्रो वंशज र पुर्खासँग जोडिएको विषय पनि हो । यसलाई हल्का रूपमा नलिइयोस् । विदेशी महिलासँग विवाह गर्ने वित्तिकै तात्तातै नागरिकता दिने भन्ने प्रावधान विल्कुल गलत छ । यसमा मेरो संशोधन पनि छ । संसदीय समितीको प्रतिवेदनमा सात वर्षपछि नागरिकता दिनुपर्छ भन्ने छ । तर, मैले पाँच वर्षको प्रस्ताव गरेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७