गत मंसिरमा एमसीसी ‘मिसन’ पुरा गरेर फर्किएका लु एसपीपी ‘मिसन’लिएर फेरि काठमाडौंमा सक्रिय


१२ श्रावण २०७९, बिहीबार
Donald Lu

काठमाडौं : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं ओर्लिएपछि भेटघाटमा सक्रिय भएका छन् । लु तीन सदस्यीय टोलीसहित विस्तारा विमानमार्फत भारत हुँदै विहिबार काठमाडौंमा ओर्लिएका हुन् ।

उनी काठमाडौं ओर्लिए लगत्तै अमेरिकी दूतावासले काठमाडौंमा गरेको व्यवसाय तथा लगानी सहजीकरण कार्यशाला गोष्ठीमा सहभागी भए ।

कार्यक्रममा उनले सीमान्तकृत व्यक्तिहरू र शोषणबाट ज्यान जोगाएकाहरूले स्थापना गरेको पूर्णा नामक उत्पादन कम्पनीलाई यसै वर्ष अमेरिकी विदेशमन्त्रीको तर्फबाट दिइएको कर्पोरेट एक्सिलन्स अवार्ड हस्तान्तरण गर्ने गरे ।

कार्यक्रममा कार्यवाहक राजदूत म्यानुएल मिकल्लेरले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव अर्जुन पोखरेल लगायत थिए ।

त्यस लगत्तै उनी राजनीतिक भेटघाटमा सक्रिय छन् ।

भ्रमण ‘राजनीतिक’
तीनदिने भ्रमणमा नेपाल आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दूतावासले लुको भ्रमणलाई नियमित दाबी गरेपनि उनले काठमाडौंमा विभिन्न दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने स्रोतको भनाई छ ।

उनी नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । त्यस बेला लुले एमसीसी सम्झौतालाई संसद्‍बाट अनुमोदन गराउन काठमाडौंमा आएर दौडधुप गरेका थिए ।

उनले अमेरिका फर्किएपछि नेपाली नेताहरुलाई फोन गरेर एमसीसी अनुमोदनको प्रक्रियालाई अगाडि नबढाए ठिक नहुने धम्कीपूर्ण भाषा बोलेका थिए ।

त्यसबेला उनले नेताहरूलाई भ्रष्टाचार र बाह्य दबावले नेपालले एमसीसीबारे लिने निर्णयलाई प्रभावित तुल्याए त्यसले नेपाल अमेरिका सम्बन्धमा प्रभाव पार्ने चेतावनी दिएका थिए।

मिसन ‘एसपीपी’

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए. फ्लिन चार दिने नेपाल भ्रमण गरेर फर्किएको एक महिनापछि लु बिहीबार काठमाडौं उत्रिएका हुन् ।

२६ जेठमा आएका कमाण्डर जनरल चार्ल्स ए. फ्लिन २९ जेठमा फर्किएका थिए । त्यसबेला अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा सार्वजनिक भएपछि विवाद भएको थियो ।

सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो । तर सरकारले हालसम्म अमेरिकालाई औपचारिक रुपमा पत्राचार गरेर जानकारी समेत गराइसकेको छैन ।

सरकारमा सहभागी पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, माओवादीका नेताहरुले एसपीपीमा सहभागी नहुने निर्णय सरकारले अमेरिकालाई नपठाएको भन्दै आपत्ती जनाउँदै आएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ । सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेर परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको थियो । त्यस अनुसार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर परराष्ट्र मन्त्रालयले हालसम्म अमेरिकालाई पत्र पठाएको छैन ।

बैठकले अमेरिकालाई पत्राचार नगर्नुको कारण माग गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्तावेज पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।

यही विचमा भएको लुको भ्रमणलाई अधिकारीहरुले एसपीपीसँग सम्बन्धित भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७