६ प्रदेशमा भारी वर्षाको सम्भावना


२०७९ श्रावण १३ शुक्रबार ०७:५९ बजे

काठमाडौँ । आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । अहिले बिहान प्रदेश-१ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गए रातिदेखि अति भारी वर्षा भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तटीय क्षेत्र र डुबान भइरहने होचा भू भागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
भारी वर्षाको सम्भावना रहेको भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७